कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उहाँ निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिनुभयो । “डा भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ”, न्यौपानेले भन्नुभयो ।

पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताउनुभयो । डा भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ ।

आगलागीमा परी सांसद डा भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।