कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल

0
Shares

काठमाडौँ।

कृषि तथा पशुपक्षी मन्त्री डा बेदुराम भुसालले नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताउनुभएको छ ।

नयाँ वर्ष २०८० एवं भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा आजदेखि सुरु भएको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा देश पछाडि पर्दै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नयाँ जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशतमात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उतपादनलाई बढाउनुप¥यो ।”

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले भक्तपुर जिल्ला कृषि उत्पादनमा अगाडि भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने बताउनुभयो । मन्त्री भुसालले भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।