काठमाडाैंमा विदेशी मुद्रा सटही गर्ने भन्दै ठगी गर्ने पाँच जना प्रहरीकाे नियन्त्रणमा

0
Shares

काठमाडौं ।

राजधानीका विभिन्न ठाउँमा सस्तो दरमा अमेरिकी डलर लगायतका विदेशी मुद्रा सटही गर्ने भन्दै ठगी गर्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीमा डलर साट्ने बहनामा ठगी गर्ने भन्दै गिरोह सक्रिय रहेको भन्ने गुनासो बढेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिकाको अत्तरखेल र नाम्खेलबाट डलर साट्ने भन्दै ठगी गर्दै आएका ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेको व्यक्तिहरूले बिदेशी मुद्रा चाहिएको भए आफुले सस्तो रेटमा साटी दिने भन्दै पीडित व्यक्तिहरूलाई पटक पटक फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साट्दिने प्रलोभनमा पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

१ र ५० दरका अमेरिकी डलर पीडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साँगुरा गल्ली, पातलो मानव बस्ती र जंगल आसपासको स्थानमा बोलाई पीडित पक्षलाई झुक्काएर ५, १० , २० र नेपाली नोट साइजको पेपर काटी रुमालमा पोको पारी दिई पीडितसँग भएको लाखौँ रुपैयाँ लुटपाट गरी फरार हुने गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

ठगी तथा लुटपाटमा संलग्न भएका उनीहरूले विभिन्न नम्बरका मोबाइलहरू प्रयोग गर्ने र घटना पश्चात् प्रयोग गरेका मोबाइलहरू पुनः प्रयोग नगर्ने गरेको साथै पीडित सँग त्यस्ता व्यक्तिको हुलिया मात्र थाहा हुने गरेको कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न लामो समय लागेको बताएको छ । पक्राउ परेका व्यक्तिहरूले विभिन्न ठाउँमा ठगी गर्दै आएको पनि प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर चापागाँउ बस्ने सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसे घर भई गोकर्ण नाम्गेल बस्ने बिकाश तामाङ, धनकुटाको बेलारा घर भई हाल भंगाल बस्ने दीपक दमाई, सिन्धुपाल्चोक बाह्रबिसे घर भई गोकर्ण नाम्गेल बस्ने साजन तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल नयाँ बस्ती प्रेम ब. तामाङ रहेका छन् ।