युवा गल्फर सद्भावको ऐतिहासिक उपाधि

0
Shares

काठमाडौं । शुक्रबार आर एन जीसी गल्फ कोर्षमा एक युवाले नेपालका अनुभवी गल्फरलाई पछाडि पार्दै उपाधि जिते । उनले सूर्य नेपाल च्यालेन्जको उपाधि जितेर सबैको ध्यान खिँच्न सफल भए ।

यी युवा खेलाडी पूर्व विख्यात गल्फर दीपक आचार्यका सुपुत्र सद्भाव आचार्य हुन् । उनले मात्र १६ वर्ष १० महिनाको उमेरमा उपाधि जितेर नेपाली गल्फमा इतिहास कोर्न सफल भए ।

सद्भावले नेपाली गल्फको व्यवसायिक प्रतियोगिताको इतिहासमा उपाधि जित्ने कान्छो खेलाडी बनेर इतिहास कोरेका हुन् । यसअघि यो इतिहाससँग सुवास तामाङको नाम रहेको थियो । सुवासले सन् २०१९ को यही सूर्य नेपाल च्यालेन्जमा उपाधि जित्दा उनको उमेर १६ वर्ष ११ महिनाको थियो । उनको कीर्तिमान एक महिनाले तोडियो ।

सद्भावको सुर्य नेपाल गल्फ टूरअन्तर्गत यो आठौं ठूला प्रतियोगिता हो । उनले २०२१ मार्चमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएका हुन् । उनको अथक प्रयास दुई वर्षपछि नै देखियो । त्यतिबेला उनको उमेर १४ वर्षको थियो । अहिले उनले व्यवसायिकतामा पनि आफु तयार भएको प्रमाणित गरे । तर, उनका बुबा दीपक आचार्यले भने अहिले नै व्यवसायिकतामा ल्याउन नहुने बताउनुभयो ।

दीपक आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो—समग्रमा उनको हरेक विधामा प्रगति भइरहेको देखेको छु । म आफै व्यावसायिक खेलाडी भएको हुँदा उनको लागि गाइड गर्न पनि सकिरहेको छु ।

आगामी लक्ष्य एशियनतिर हो । यो प्रमाणित गरिसकेको छ कि उनले व्यवसायिक गल्फ खेल्न सक्छन् । तर, यसो भन्दै ठूल्ठूला प्रतियोगितामा खेलाउन त मिलेन । विस्तारै उनलाई माथि ल्याउने हो । एकैचोटी ठूल्ठूला प्रतियोगितामा होमियो भने त्यसको नतिजा नराम्रो नै हुन्छ ।

गल्फमा व्यवसायिक गल्फरको लागि पुरस्कार रकम दिइने प्रावधान रहेको छ । यही अनुसार एमेच्योरमा समेत उपाधि जितेका युवा गल्फर सद्भावले व्यवसायिकमा उपाधि जितेपनि पुरस्कार रकम भने पाएनन् । भुवन नगरकोटी दोस्रो भए पनि पहिलो पुरस्कार रकम भुवनले नै पाएका थिए । तेस्रो स्थानमा पूर्व एक नम्बर गल्फर रवि खड्का रहे । रवि पहिलो र तेस्रो दिन शीर्ष स्थानमा रहेका थिए ।

गल्फमा होलअनुसारको खेलका चरण बाँडिएको हुन्छ । पहिलो दिनको १८ होल समाप्तिसम्म रवि शीर्ष स्थानमा थिए भने सद्भाव नवौं स्थानमा थिए । दोस्रो दिन धनबहादुर थापा शीर्ष स्थानमा उक्लिँदा सद्भाव चौथो स्थानमा थिए । उनले यहाँ ५ स्थानको छलाङ मारे । यसपछि तेस्रो चरणको खेल समाप्तिसम्म उनी चौथो स्थानमा नै थिए भने पहिलो स्थानमा रवि थिए ।

अन्तिम चरणको खेल शुरुवात हुँदा शीर्ष स्थानका रविसँग सद्भाव चार स्ट्रोकले पछि थिए । १८ होलअन्तर्गत फ्रन्ट नाइन (पहिलो ९ होल) सद्भावले २ अन्डर ३२ स्कोरमा समाप्त गरे । उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी खेलेका थिए । तर, भुवनले पनि यही स्कोर गर्दै समग्रमा सद्भावलाई चुनौती दिएका थिए ।

तर, ब्याक नाइन (पछिका ९ होल) मा पनि सद्भावले फ्रन्ट नाइनमा झै राम्रो खेले । उनले १३औं, १६ औं र १७ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा २ अन्डर ३२ स्कोर नै गरे । यता भुवन भने बोगी खेल्दै पछाडि परे । उनले ब्याक नाइनमा २ ओभर ३६ खेल्न पुग्दा सद्भावले इतिहास कोर्न सफल भए । उता सद्भाव भन्दा ४ स्ट्रोकले अघि रहेका रवि पनि अन्तिम दिन खराब खेल्न पुगे ।

सदभावले भारतको बैंगलोरस्थित तरूण सरदेशाई एकेडेमीमा गल्फको प्रशिक्षण लिइरहेका छन् । हाल उनी कान्तिपुर वल्र्ड एकेडेमीमा ए लेभल पढिरहेका विद्यार्थी समेत हुन् ।

उनको लागि बुबा दीपकले घरमै पढाइको बन्दोबस्त गर्नुभएका छन् । उनको पढाइमा असर नहोस भन्ने हिसाबले दीपकले हरेक किसिमले सहयोग गर्नुभएका छन् ।

दीपकले बताउनुभयो—पढाइ एकदम महत्वपूर्ण छ, उनको १२ कक्षा सकाएपछि उनलाई अमेरिकामा गल्फ कलेजमै पढाउने हेरिरहेको छु । उता यहाँ जस्तो गाह«ो पनि हुँदैन । पढाइ र खेल सँगसँगै लान सकिन्छ । अर्को उनलाई विश्वस्तरीय खेलाडी बनाउन लाग्नेछु ।