लेबनानी गोलरक्षकले थ्रीस्टारलाई फाइनल पुर्याए

0
Shares

धनगढी । ललितपुरको थ्रीस्टार क्लब धनगढीमा जारी छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लेवनानी गोलरक्षक मोहम्मद ताहले टाइब्रेकरमा दुई पेनाल्टी बचाएपछि थ्रीस्टारको फाइनल यात्रा संभव भयो । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई १० खेलाडीमा सीमित थ्रीस्टारले पराजित गरेको हो । योसँगै टोलीले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको छ । फाइनल शनिबार हुनेछ ।

टाइब्रेकरमा थ्री स्टारका कप्तान विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र सिफामान्डलाले गोल गर्न सफल भए । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीले गोल गर्दा त्यसपछि विष्णु चौधरी र विमल ओलीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक मोहम्मद ताहले रोकेर घरेलु टोलीको फाइनल पुग्ने सपना चकनाचुर पारिदिएका थिए । निर्धारित समय १–१ बराबरीमा सकिएको थियो ।

सुदूरपश्चिमले अन्तिम समयमा गोलरक्षक आकाश बुढाको स्थानमा दीपक बोहोरालाई मैदानमा पठाएपनि उनले पेनाल्टीमा कुनै प्रहार रोक्न सकेन । थ्री स्टार पहिलो हाफमै १० खेलाडीमा सेमटिन पुगेको थियो । ४४औं मिनेटमा दिपेश गुरुङ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि थ्री स्टार समस्यामा परेको थियो ।

तर, कप्तान विक्रम लामाको गोलबाट थ्री स्टारले खेलको ८३औं मिनेटमा अग्रता लिन सफल भएको थियो । तर, थ्री स्टारले त्यो अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोलरक्षक मोहम्मद ताहले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई जाली चुमाउँदै माधव भण्डारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

थ्री स्टारका विक्रम ‘एसपीए म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि क्यामरुनको एभिनिर फुटबल क्लबलाई ६–० ले हराउँदै मनाङ प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।