आलितालमा पूर्वाधार निर्माणका काम हुँदै



डडेल्धुरा । 

डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य आलितालमा विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्यहरु सञ्चालन भइरहेका छन् ।

धार्मिक तथा प्राकृतिक रुपले मनोरम मानिने आलितालमा पछिल्लो समय माथिल्लो क्षेत्रबाट बगेर आउने ढुंगा, माटो तथा पत पतिङ्गरले ताल भरिने जोखिम बढेपछि विभिन्न निकायहरुबाट ताल संरक्षणका लागी पहल भइरहेको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिँह ठगुन्नाले बताउनु भयो ।

चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले आलिताल परिसरमा भौतिक पूर्वाधार निर्माण योजना अन्तर्गत विभिन्न संरचना निर्माण गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आलितालको भौतिक पूर्वाधार विकासकासाथै संरक्षणका लागी  चालु आर्थिक वर्षमा  १५ लाख बजेट विनियोजन गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका प्रमुख पुष्पराज जोशीले जानकारी दिनुभयो ।

सो बजेटमा स्थानीयबासीबाट  दुई लाख १० हजार आठ सय ३१ रुपैयाँ श्रमदान जुटाएर तालको माथिल्लो क्षेत्रमा देखिएका स–साना पहिरो तथा सम्भावित खहरे खोलाको बाढी नियन्त्रणका लागी ग्याविन जालीहरुको प्रयोग गरेर चेकड्याम निर्माण गरिन थालिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले जनाएको छ ।

गत आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ बराबरको चेकड्यामहरु निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका सूचना अधिकारी ज्ञानेन्द्र ताम्राकारले बताउनु भयो ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा रहेको पर्यटकीय क्षेत्र आलिताल पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । केही वर्षअघि संरक्षणको अभावमा ओझेलमा परेको ताल हाल आन्तरिक तथा बाह्य पर्यटककका लागि आकर्षणको केन्द्र बन्दै गएको आलिताल गाउँपालिकाले जनाएको छ ।

आलिताल गाउँपालिकाले तालको संरक्षण र सम्बद्र्धनका लागि बर्षेनी बजेट छुट्टाउँदै व्यवस्थित गरिरहेकाले आलिताल अहिले अवलोकन भ्रमणको गन्तव्य बनेको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताउनु भयो ।

आलिताल गाउँपालिका र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सहयोगमा तालमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्