संघीयता बलियो बनाउनुपर्छ, रेशम केही महिनाभित्र छुट्छन् : उपेन्द्र यादव

0
Shares

धनगढी।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका छन्। आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध केही पार्टी र मान्छेहरु सल्बलाको भन्दै देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका हुन्।

यस्तै उनले विगतका विभिन्न आन्दोलन, विद्रोह, जन आन्दोलन, थारु आन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नुपर्ने पनि बताए। त्यसका लागि उनले अहिले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार संघीय कानुनको अभावले कार्यान्वयन हुन नसकेको र त्यो कार्यान्वयन गर्न सरकारले लाग्नुपर्ने जनाए। संघीयताविरुद्ध आवाज उठिरहेको बेला अब सरकारले आवश्यक कानुन बनाएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने उनको दाबी छ।

त्यस्तै उनले अहिले जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रकोबीचमा समाजवादी मोर्चा बन्ने र बनाउनेबारे छलफल चलिरहेको बताए। उनले भने, ‘एकताको विषयमा मुल गाठो कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन भन्ने नै हो। तर, अहिले पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनाउने कुरामा तयारी भइरहेको छ।’ यस्तै अर्को सन्दर्भमा उनले टीकापुर घटनामा दोषी प्रमाणित भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीलाई रिहा गर्नुपर्ने र उनी केही महिनाभित्र रिहा हुने तथा सर्वोच्च अदालतले उनलाई रिहाइ दिने दाबी गरे।

आर्थिक क्रान्ति आवश्यक, उपचुनावबारे अनिर्णीत

अध्यक्ष यादवले अब अहिले मुलुकका आर्थिक कारोबारका क्षेत्रहरु धराशायी बनिरहेको अवस्थामा आर्थिक क्रान्ति एकदमै आवश्यक रहेको बताए।उनले अहिलेको आर्थिक संकटबाट मुलुकलाई जोगाउन अर्थतन्त्रमा सुधारका कदम चाल्न ढिलो नगर्न पनि सरकारलाई सुझाव दिए।

उनले भने, ‘अब मुलुकमा सामाजिक र आर्थिक परिवर्तनको खाचो छ। त्यसका लागि सरकारले तत्काल नीति निर्माण गर्नुपर्छ। त्यस्तै अहिलेको संविधान संशोधन गर्नुपर्ने देखिन्छ।’ यस्तै आफूलाई आसन्न उपनिर्वाचन लडेर पुनः संसद्मा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको पनि उनले जिकिर गरे। तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनले बताए।

तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए। ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। पार्टी र गठबन्धनका नेता पनि संसद्मा आउन उचित  हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन। मैले पनि माइन्ड मेकअप गरिसकेको छैन।’