स्थगित स्ववियु निर्वाचन अनिश्चित

0
Shares

–निर्देशिका अध्ययन नगर्नाले समस्या
–२ सय ५० को परिणाम सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिनुभएको छ । उपकुलपति प्राडा बास्कोटाले आइतबार दिउँसो विज्ञप्ति जारी गरी स्थगित भएका क्याम्पसको स्ववियु निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचन प्रक्रिया शुरू नभएका क्याम्पसमा निर्वाचन गर्ने वा नगर्ने विषयमा अन्योल भएको छ ।

केन्द्रीय निर्वाचन तथा अनुगमन समितिले फागुन तेस्रो साता जारी गरेको १३ बुदे निर्देशिकामा स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख गरेको थियो । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।
तर, उपकुलपति डा. बास्कोटाले चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गर्नुभएको छ । ‘कुनै कारणवश शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरी ३० दिनभित्र मिति तोकी निर्वाचन गर्नुपर्नेछ’ –समितिले जारी गरेको निर्देशिकामा लेखिएको छ ।

‘उपकुलपति प्राडा बास्कोटाले समितिसँग सल्लाह नै नगरी एकाएक विज्ञप्ति जारी गरेपछि थप समस्या आएको छ’ –एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । ‘त्रिविका पदाधिकारीसहितको बैठकबाट निर्देशिका जारी भएको हो, उपकुलपतिले निर्वाचन स्थगित भएको क्याम्पसमा १२ गतेभित्र गरिसक्न निर्देशन दिएपछि समस्या परेको छ’ –ती अधिकारीले भने ।

काठमाडौं उपत्यकाभित्रका ७ वटा क्याम्पसमा आइतबार स्ववियु चुनाव हुन सकेन । उपत्यका बाहिरका १४ क्याम्पसमा रोकिएको छ । त्रिविको ६२ आंगिक क्याम्पसमध्ये ३९ वटामा मात्र चैत ५ गते निर्वाचन भएको थियो ।

स्थगित भएकामध्ये केहीमा भर्ना विवाद देखिएको छ । केहीमा विद्यार्थी संगठनबीचको विवादले रोकिएको छ । विद्यार्थी संगठनको विवादले पाटन संयुक्त, त्रिचन्द्र, आरआरलगायतका क्याम्पसमा तालाबन्दी भएको छ । उपत्यका बाहिर केही क्याम्पसले पर्सि चैत ८ गते निर्वाचन गर्ने तयारी गरेका छन् । स्थगित अधिकांश क्याम्पसमा विवाद साम्य हुन सकेको छैन ।

उपकुलपति बास्कोटाले निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा सबै निकायलाई धन्यवादसमेत दिनुभएको थियो । तर, उहाँले निर्देशिका अध्ययन नगरी विज्ञप्ति जारी गरेकोमा निर्वाचन समिति नै आश्चर्यचकित भएको छ ।

आइतबार स्थगित २१ वटा आंगिक क्याम्पसमा निर्देशिकामा उल्लेख भएअनुसार ३० दिनभत्र निर्वाचन गर्न निर्वाचन समितिले आग्रह गरेको छ । आइतबार उपत्यकाका १५ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

उपत्यकाका विश्वभाषा, त्रिचन्द्र, रत्नराज्य, पाटनसंयुक्त, केन्द्रीय आयुर्वेद, मीनभवन र अस्कल क्याम्पसको मतदान स्थगित भएको छ । ती क्याम्पसको निर्वाचन गर्ने विषयमा क्याम्पस प्रमुख र निर्वाचन समितिले निर्णय गर्नेछ ।

समितिले स्थगितमध्ये भैरहवाको पक्लिहवा कृषि, दाङको महेन्द्र बहुमुखी, भैरहवा बहुमुखी र नेपालगञ्जको महेन्द्र क्याम्पसमा यही ९ गते हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालित छन् । तीमध्ये दुई आंगिकसहित करिब २ सय ५० क्याम्पसको मत परिणाम आइसकेको छ । परिणामअनुसार अनेरास्ववियुले हालसम्म उपत्यकाका ६ सहित १०६ क्याम्पसमा विजय हासिल गरेको अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।

नेबिसंघका कार्यालय सचिव विजय खड्काका अनुसार नेविसंघले उपत्यकाका ७ सहित ७९ क्याम्पसमा विजय हासिल गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले उपत्यकाको २ सहित ४७ क्याम्पस, नेकपा एस निकट अनेरास्ववियु ५, विप्लव निकट अनेरास्ववियु ४ जसपा १ तथा नागरिक उन्मुक्तिले १ स्थानमा विजय हासिल गरेको जानकारी दिनुभयो । विद्यार्थी संगठनको तथ्यांकअनुसार क्याम्पसमा सभापति विजयी भएका उम्मेदवारको आधारमा संख्या तय गरेका हुन् ।

उपत्यकामा को कहाँ

नेविसंघ
१.शंकरदेव क्याम्पस– सुशान्त बस्नेत
२.पद्मकन्या (पीके) क्याम्पस– ज्योति पनेरु
३. पब्लिक युथ क्याम्पस– नवीन पाण्डे
४.सरस्वती क्याम्पस– मुस्कानराज गौतम
५.भक्तपुर क्याम्पस– रमेश खड्का
६.त्रिवि केन्द्रीय क्याम्पस– श्यामराज ओझा
७.थापाथली क्याम्पस– पुष्करविक्रम शाही

अनेरास्ववियु

१. महेन्द्ररत्न क्याम्पस ताहाचल– ईश्वरकुमार थापा
२.पुल्चोक इन्जिनियरिङ क्याम्पस– विराज अर्याल
३. महाराजगन्ज नर्सिङ क्याम्पस– नोवित बस्नेत
४.महाराजगन्ज मेडिकल कलेज– आनन्दकुमार सिंह
५.जनप्रशासन क्याम्पस– अग्र शाही
६. ललितकला– सुजन श्रेष्ठ
अनेरास्ववियु क्रान्तिकारी
१. नेपाल ल क्याम्पस– विष्णु ढुंगेल
२.सानोठिमी क्याम्पस– रेशम श्रेष्ठहालसम्मको विवरण

अनेरास्ववियु १०६

नेविसंघ ७९
क्रान्तिकारी ४७
एस अनेरास्वविु ५
विप्लव निकट अनेरास्ववियु ४
जसपा १
नागरिक उन्मुक्ति १