स्ववियु निर्वाचन – ६० प्रतिशत मत खस्यो



–सय बढीमा निर्विरोध
–चितवन र कास्कीका कुनै पनि क्याम्पसमा निर्वाचन भएन
–राति अबेरसम्मको परिणामअनुसार देशभरका ६० क्याम्पसमा एमाले अखिल – ३०, नेवि संघ – १३, अखिल क्रान्तिकारी (माओवादी) – १२, अखिल एस – ३, विप्लव अखिल – १, जनमोर्चा अखिल – १

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइतबार ३९ वटा आंगिक क्याम्पसमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । त्रिविको इतिहासमा शान्तिपूर्ण रूपमा निर्वाचन भएको पहिलो घटना भएको त्रिविको दाबी छ ।

त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले करिब ६० प्रतिशत मत खसेको जानकारी दिनुभयो । केही क्याम्पसमा सोचेभन्दा कम मतदान भएको उहाँको भनाइ छ । त्रिविले केहीमा ६ वर्ष र अधिकांशमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको जनाएको छ । सदस्य सचिव अधिकारीले यसअघि २०७३ सालमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । बाँकीमा ०६५ सालबाट निर्वाचन हुन सकेको थिएन । निर्वाचनमा उत्साहका साथ विद्यार्थीले मतदान गरेका थिए । आइतबार स्थगित २१ वटा आंगिक क्याम्पसमा ३० दिनभित्र निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

आइतबार उपत्यकाका १५ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । उपत्यकाको विश्वभाषा, त्रिचन्द्र, रत्नराज्य, पाटन संयुक्त, केन्द्रीय आयुर्वेद, मीनभवन र अस्कल क्याम्पसको मतदान स्थगित भएको छ । ती क्याम्पसको निर्वाचन गर्ने विषयमा क्याम्पस प्रमुख र निर्वाचन समितिले निर्णय गर्नेछ ।

आइतबार दुई जिल्लाका कुनै पनि क्याम्पसमा निर्वाचन भएन । निर्वाचन हुन नसकेका जिल्लाहरूमा चितवन, र कास्की छन् । चितवनको चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरहनी, वीरेन्द्र क्याम्पस भरतपुर चुनाव हुन सकेको छैन ।

त्यस्तै, कास्कीको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन भएको छैन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको सो क्याम्पसमा अदालतको आदेशको कारण अनिश्चित भएको छ । पोखराका पोखरा नर्सिङ क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखरा वन क्याम्पसमा निर्वाचन भएको छैन ।

त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये केहीमा निर्वाचन हुन नसके पनि बाँकीमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थगित भएकामध्ये भैरहवाको पक्लिहवा कृषि, दाङको महेन्द्र बहुमुखी, भैरहवा बहुमुखी र नेपालगञ्जको महेन्द्र क्याम्पसमा यही ९ गते हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

स्थगित भएका क्याम्पसमा विद्यार्थी संगठनबीच सहमति नहुँदा स्थगित भएको हो । स्थगित भएका क्याम्पसमध्य उपत्यकाको ७ र उपत्यका बाहिर १४ आंगिक क्याम्पस छन् । आइतबार उपत्यका बाहिर वीरगञ्जको ठाकुरराम, महेन्द्रनगरको सिद्धनाथ, वाग्लुङको धौलागिरि, पाल्पाको त्रिभुवन, विराटनगर नर्सिङ, महेन्द्र मोरङ विराटनगर र महेन्द्र क्याम्पस दाङ र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज छन् ।

यसअघि धनकुटा बहुमुखी र गोरखा क्याम्पसमा निर्विरोध भएका छन् । धनकुटामा एमाले निकट अनेरास्ववियु र गोरखामा अनेरास्ववियु क्रान्तिकारीका सभापतिसहितका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालित छन् । तीमध्ये दुई आंगिकसहित १ सय ६ क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविले जनाएको छ । कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध, वागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो । तथ्यांकअनुसार करिब सय सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्