मापदण्डका आधारमा मन्त्री : कांग्रेस

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकारमा मन्त्रीको जिम्मेवारीमा पठाउने सांसदहरूको मापदण्ड बनाउने भएको छ । पार्टीले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको हो । संघीय संसद् भवनको शंकर हलमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जनाकारी दिनुभयो ।

बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको उहाँको बताउनुभयो । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि पार्टी सरकारमा सहभागी हुनेसमेत महतको भनाइ छ । प्रवक्ता महतका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन । कांग्रेसभित्र सरकारमा नेतृत्व गरेर जाने नेताहरूको लामो लाइन लागेको बताइएको छ ।

कांग्रेसभित्र ६ जना ‘हेभिवेट’ नेताबीच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको कांग्रेसका एक नेताले बताए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेका छन् ।

यसपटक काम देखाउने गरी मन्त्रीमण्डलमा पठाउन पार्टी नेतृत्वलाई तेस्रो तहका नेताहरूले सुझाव दिएका छन् । पुराना अनुहारलाई रोकेर बढीभन्दा बढी नयाँ र युवा नेताहरूलाई मन्त्री बनाएर पठाउँदा जनताका पक्षमा काम गरेर देखाउने र पार्टीको साख बचाउन सहयोग पुग्ने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताउनुभयो । तर, पार्टी नेतृत्वले आफ्नै वरिपरि रहेर पटकपटक मन्त्री हुँदा केही काम गर्न नसक्नेहरूलाई नै मन्त्रीमा प्राथमिकता दिन सक्ने सम्भावना बढी नै छ ।