राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्पराको अन्त्य

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्पराको अन्त्य गर्नुभएको छ । सर्वसाधारणलाई रोकतोक नगरी राष्ट्रपति पौडेल शनिबार काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुग्नुभयो ।

उहाँ वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न जाँदा र फर्कदा सार्वजनिक सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएन । यसरी सवारी गरेसँगै उहाँले यसअघिको परम्परालाई तोड्नुभएको छ । राष्ट्रपतिको सवारी हुँदा यसअघि सर्वसाधारणलाई रोक्ने गरिन्थ्यो । जसले गर्दा सडक जाम हुँदा आलोचना हुने गरेको थियो ।

निर्वाचित भएपछि पहिलोपल्ट कुमारी घरकुमारीको दर्शन गर्न जानुभएका राष्ट्रपति पौडेलले प्रसादग्रहण गर्नुका साथै कुमारी घरमा चियापानसमेत गर्नुभयो । यसअघि राष्ट्रप्रमुखले कुमारी घरमा चिया पिउने चलनसमेत थिएन । राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै सवारी जाम नगर्ने भन्दै गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भनेर देखाउने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेल वसन्तपुरस्थित कुमारी घर पुग्दा कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान वज्राचार्य, पूर्व प्रदेशसभा सदस्य राजेश शाक्यलगायतले स्वागत गरेका थिए । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किनुभएको थियो ।

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ ।

यही भ्रमणबाट उहाँले सर्सावधारणलाई कुनै असर नपर्ने गरी सवारीको व्यवस्था मिलाउन सम्बन्धित सुरक्षा संयन्त्रलाई भन्नुभएको र उहाँको सवारीमा आम सर्वसाधारणले दुःख नपाएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।