पुलिसको लगातार तेस्रो हार

0
Shares

काठमाडौं । यस सिजनको शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबको प्रदर्शन गतिलो भएन । जारी लिगमा पुलिसले लगातार तेस्रो हार बेहोरिसक्यो । शनिबार भएको खेलमा संकटा क्लबसँग पुलिस ३–० गोलअन्तरले हारेको हो ।

विभागिय टोली पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले र दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले पराजित भएको थियो । अहिले तेस्रो खेलमा पनि हार आत्मसात गरेको पुलिसको लिगमै खराब शुरुवात भएको छ । पछिल्लो केही सिजनदेखि पुलिसको खेलमा गिरावट आइरहेको छ । एक समय यस्तो पनि थियो कि पुलिसलाई हराउन कुनै पनि टोलीको आँट थिएन ।

ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा संकटाले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल गरेको थियो । यो संकटाको यो पहिलो जित थियो । यसअघि संकटाले पहिलो खेलमा आर्मीसँग २–२ बराबरी खेल्दा दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । पहिलो जितसँगै संकटाको ३ खेलबाट ४ अंक पुगेको छ । तीनै खेल गुमाएको पुलिसले अंकको खाता खोल्न सकेको छैन ।

पुलिसले गत वर्ष च्यासल युथ क्लबलाई २–१ ले पराजित गरेयता लिगमा जित निकाल्न सकेको छैन । त्यसपछि पुलिसले सकंटासहित ७ खेल खेल्दा जित निकाल्न सकेको छैन । च्यासललाई हराएपछि पुलिसले सातदोबाटोसँग १–० को हार, थ्री स्टार र एपिएफसँग समान १–१ गोलको बराबरी तथा एनआरटीसँग ३–१ ले पराजित भएको थियो ।