विश्वलाई स्वर्ण

0
Shares

काठमाडौं । कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा विश्वले स्वर्ण जितेका हुन् । विश्वले शनिबार भएको फाइनलमा गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र गोल्डेनगेटका सुदन गडाल तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मियाकीले स्वर्ण जिते । उनले फाइनलमा उदयमोहन श्रेष्ठलाई ११–६, १२–१० र १४–१२ को सोझो सेटमा हराउदै स्वर्ण जिते । मदन आचार्य र बलराम सापकोटा तेश्रो बने । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा निशान प्रधानको चुनौती ११–६, ११–८ र ११–८ को सोझो सेटमा पन्छाए । किरणमुनि वज्राचार्य र नदिमरत्न शाक्य तेश्रो स्थानमा रहे ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्स फाइनलमा इन्दिरा पौडेल पराजुलीले सम्झना पोखरेललाई सीधा सेटमा ११–७, ११–३ र ११–९ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजना गरिएको हो ।