प्रशान्त र प्रगतिलाई स्वर्ण

0
Shares

काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता भइरहेको छ । शनिबार पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् ।

जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नव मन्जुश्रीका सन्जिव जिरेल तथा ३६ केजीमुनि कोटेश्वरका इमोन राणा पहिलो भए । महिला ३० केजीमुनि नव मन्जुश्रीकी सिस्तोला कुइकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नव मन्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हात पारे ।

सो अवसरमा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले शाहसिक प्रस्तुती गर्ने क्रममा आफ्नो पेटमा १ सय ५० केजीको ढुंगा राखि फुटाउन लगाएका थिए । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।