बुढानीलकण्ठ मन्दिरको पहिला गुरुयोजना बनाउँछौँ : मेयर अधिकारी



काठमाडौँ। 

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बुढानीलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना बनाउनुपर्ने बताएका छन् ।
मन्दिरको पूर्वाधार विकास र पुरातत्त्व मापदण्ड पूरा गरेर संरचना थप्नका लागि पहिला गुरुयोजना बनाएर मात्रै काम थाल्नुपर्ने उनको भनाइ  छ ।

नेपाल पर्यटन बोर्डको सहकार्य, बुढानीलकण्ठ नगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा बिहीबार बुढानीलकण्ठ मन्दिर परिसमा भएको कार्यक्रममा बोल्दै मेयर अधिकारीले गुरुयोजना बनाएर मात्रै मन्दिरको व्यवस्थापन र पूर्वाधार विकास बलियो बन्ने बताएका हुन् ।

तर मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानसँग सहकार्य गर्न चुनौतीपूर्ण रहेकाले गुरुयोजनाबारे आवश्यक छलफल, योजना र तयारी गर्न समय लागेको उनको भनाई छ । गुरुयोजना नभएसम्म मन्दिरको पुरातत्त्वलाई ध्यानमा राखेर आधुनिक व्यवस्थापन कठिन हुने पनि उनको भनाई छ ।

‘मन्दिर व्यवस्थापनका लागि सबैभन्दा पहिले गुरुयोजना तयार पार्नुपर्छ । त्यसका लागि नगरपालिकाले सोचिरहेको छ । हामीले तयारी अगाडि बढाएका छौँ’ मेयर अधिकारीले भने,  ‘गुरुयोजना तयार भएपछि त्यहीअनुसार बजेट र योजना कार्यान्वयन गर्नुपर्छ । तर गुठी संस्थानसँग सहकार्य नै जटिल भएकाले समय लागिरहेको छ ।’

उनका अनुसार नगरपालिकाले मन्दिरको सरसफाइ तथा व्यवस्थापनका लागि १० जना कर्मचारी खटाएको छ । नगरपालिकाले नै तलब व्यवस्थापन गर्ने गरी खटाइएका कर्मचारीले सरसफाइ र व्यवस्थापनको काम गरिरहेको मेयर अधिकारी बताउँछन् ।

मन्दिर व्यवस्थापनका लागि जग्गा अधिग्रहण गर्ने, भएको संरचना व्यवस्थित गर्ने र आगामी दिनमा त्यसको तयारीका लागि विशेष पहल थाल्ने र नगरपालिकाले नेतृत्व लिने योजना रहेको पनि मेयर अधिकारीले बताए ।

बुढानीलकण्ठको पर्यटन प्रवर्द्धनका लागि आगामी वैशाखमा बुढानीलकण्ठ मेला तथा महोत्सव गर्ने योजना रहेको र त्यही अनुसार तयारी भइरहेको पनि मेयर अधिकारीले बताए । बुढानीलकण्ठ मन्दिर विशेष र पुरातत्त्व तथा धार्मिक हिसाबले धेरै महत्त्वपूर्ण भएपनि त्यसलाई व्यवस्थापनमा सबैको सहयोग तथा सहकार्य जोड्न चुनौतीपूर्ण रहेको उनको भनाई थियो ।

मेयर अधिकारीले गुठी संस्थानसँग सहकार्य गरेर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिका लिन तयार रहेको पनि बताए ।

‘हामी मन्दिर सञ्चालन र व्यवस्थापन गर्न चाहन्छौँ’ मेयर अधिकारीले ‘यसका लागि गुठी संस्थानले पनि सहयोग गर्नुपर्छ । नगरपालिकाले मन्दिरको व्यवस्थापन गरेर थप पर्यटक ल्याउन आवश्यक सबै काम र पहल गर्छ । यो मेरो प्रतिबद्धता हो ।’

प्रतिक्रिया दिनुहोस्