संरक्षण अभावमा ऐतिहासिक धर्मशाला हराउँदै

0
Shares

डडेल्धुरा । 

संरक्षणको अभावमा सडक नहुँदा पैदल यात्राका लागि बनाइएको बाटोमा बास बस्न बनाइएका ढुङ्गे धर्मशालाहरू मासिँदै र नासिँदै गएका छन् ।

कुनै समय निकै चर्चामा रहेको डडेलधुरा सदरमुकाम बागखोरमा रानीधारा नजिकको धर्मशाला हाल अस्तित्वमा छैन । रानीधारा नजिक रहेको धर्मशाला र अमरगढी नगरपालिका–८ किरमडेमा रहेका तीन वटा धर्मशाला हाल नासिएका छन् ।

सडक विस्तारसँगै जमिनको मूल्य बढेपछि स्थानीयले धर्मशाला नासेर घर बनाएका हुन् । धर्मशाला रहेको जग्गा बिक्री गरिएपछि हाल घर निर्माण गरिएको हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बजार नहुँदा

वर्षभरि खानलाई पुग्ने गरेर नुन, गुँड, तेललगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय एक हप्तासम्म पैदल हिँडेर नेपाल–भारतका सीमा बजार ब्रह्मदेव र टनकपुर पुग्थे । करिब तीन दशक अघिसम्म पनि यो क्रम चलिरहेको थियो ।

बटुवाहरूलाई बास बस्न त्यो बेलाका दयालु एवं परोपकारीहरूले ठाउँ ठाउँमा ढुङ्गाले निर्माण गरेर धर्मशालाहरू बनाएका थिए । धर्मशालासँगै पानी खान नाउला र शीतलताका लागि पीपल पनि लगाउने गरिन्थ्यो । घरपालुवा जनावरसहित सपरिवार तराई पहाड गर्नेहरू पनि धर्मशालामा बास बस्ने गरेको स्थानीय वयोवृद्ध तुलाप्रसाद भट्टले बताउनु भयो ।

ओहोर–दोहोर गर्दा धर्मशालामा कैयौँ पटक बास बसेको स्थानीयको सम्झना ताजै छ । धर्मशाला, पानीका नाउला र चौताराहरूका उदाहरण डडेलधुराका थुप्रै स्थानमा देख्न सकिन्छ । महाभारत पर्वत क्षेत्र हालको डडेलधुरास्थित अमरगढी नगरपालिका–३ र आलिताल गाउँपालिका–२ तेले लेक क्षेत्रमा दर्जनौँ धर्मशाला छन् भने नाउला र चौताराहरू पनि छन् ।

यस्तै अमरगढी नगरपालिका–७ पोखरा बजारको पूर्व र दक्षिणतर्फ थोरै दूरीमा दुई वटा ढुङ्गे धर्मशालाहरू छन् । जोशीगाउँ नजिक बाटोमा धर्मशालासँगै पीपल चौतारो पनि छ तर अहिले पीपलको रुख भने सुकिसकेको स्थानीय करन ताम्राकारले जानकारी दिनुभयो ।

तत्कालीन अवस्थामा यस क्षेत्रमा सेट्टी जातिले बसोबास गर्ने गरेको र सेप्टीहरूले धर्मशाला बनाउनुका साथै पीपल चौतारो बनाएको बूढापाकाहरूबाट सुन्नमा आएको स्थानीय जयप्रसाद जोशीले बताउनु भयो ।

पोखरा क्षेत्र र महाभारत पर्वत क्षेत्रमा रहेका धर्मशालाहरू हाल संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । ठूला–ठूला ढुङ्गाले मात्रै बनेका धर्मशालाहरू ऐतिहासिकसँगै पूर्खाहरूको रहनसहनसँग सम्बन्धित रहेको डोटेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताउनु भयो । पूर्खाहरूको जीवनशैली र परोपकारी भावनाको विकास एवं अध्ययन गर्न पनि धर्मशालाहरूको संरक्षण गर्नुपर्ने उहाँले बताउनु भयो ।

ढुङ्गे धर्मशालाहरूलाई पुरातात्त्विक सम्पदामा राखेर संरक्षण गर्न पर्ने भए पनि स्थानीयलगायत प्रदेश र सङ्घीय सरकारसँग कुनै योजना नल्याएको पाण्डेयले गुनासो गर्नुभयो ।

ढुङ्गे धर्मशालाहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न सकिने पर्यटन व्यवसायी गणेशबहादुर थापाले बताउनु भयो । बेलाबेला संरक्षणको आवाज उठान गरे पनि जिम्मेवार निकाय स्थानीय सरकारले अहिलेसम्म कुनै चासो नदिएको उहाँको गुनासो छ ।

‘हाम्रा पुर्खाहरूले धर्म कमाइन्छ भनेर धर्मशालाहरू बनाउनुभयो,’ थापाले भन्नुभयो, ‘तर अहिले हाम्रो पुस्ताले पुर्खाले बनाएका धर्मशालाहरू पनि मासिरहेका छन् भने तीन वटै तहका कुनै पनि सरकारले ऐतिहासिक सम्पदाको संरक्षणमा चासो दिन सकेको छैन ।’

अहिलेको समाज, धर्म कर्म, परोपकारभन्दा व्यवसायीकतातर्फ उन्मुख भइरहेको प्रस्ट हुने उहाँले बताउनुभयो । ऐतिहासिक ढुङ्गे धर्मशालाहरूको संरक्षण गर्न आवश्यक भएको स्थानीय बताउँछन् ।

अमरगढी नगरपालिका–३ चिरकिट्टे नजिकै बाह्राे शताब्दीमा निर्माण भएको ढुंगे धर्मशाला हाल संरक्षणको अभावमा जीर्ण बन्दै गएको स्थानीय शिक्षक वेदप्रकाश पनेरुले बताउनु भयो । पछिल्लो समय आधुनिक सडक बनेपछि धर्मशालाको महत्त्व र आवश्यकता घट्दै गएको छ ।

कुनै समय बटुवाहरूलाई सहारा दिने धर्मशालाहरू हाल आएर आफै बेसहारा बनेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको जोगबुडा–चिरकिट्टे–डडेलधुरा सडक निर्माणका क्रममा समेत महाभारत पर्वत क्षेत्रमा रहेका अधिकांस धर्मशालाहरुमा क्षति पुगेको स्थानीय बताउँछन् ।