ट्रान्सफ्याट धेरै भएको खाना बहिष्कार गर्न विज्ञहरूको सुझाव

0
Shares

काठमाडौं । ट्रान्सफ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै खराब कोलेस्ट्रोेल बढ्ने, मोटोपना, उच्च रक्तचाप, मधुमेह आदि समस्या भई नसर्ने रोगहरूजस्तै हृदयघात, मस्तिष्कघात र क्यान्सर हुनसक्ने भन्दै विज्ञहरूले यस्ता खानेकुराहरू बहिष्कार गर्न सुझाव दिएका छन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नेपालमा खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा सीमित गर्ने कानुनी प्रावधानको खाँचो’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

साधारण भाषामा ट्रान्सफ्याट भनेको खाद्य पदार्थमा हुने अति खराब चिल्लो हो यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिने जानकारी दिँदै ट्रान्सफ्याट इलिमिनेसन पोलिसी एड्भोकेसी’ परियोजनाका कार्यक्रम निर्देशक एवं मुटु सर्जन डा. प्रेमराज वैद्यले भन्नुभयो– ‘खानामा दुई किसिमका ट्रान्सफ्याट पाइन्छन् । एउटा प्राकृतिक ट्रान्सफ्याट र अर्को कृत्रिम ट्रान्सफ्याट । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानि हुँदैन । कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । यस्तो खालको चिल्लो पदार्थ कोठाको सामान्य तापक्रममा पनि जम्ने गर्छ ।’

२०७८ माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार सन् २०२३ भित्र ट्रान्सफ्याटयुक्त वनस्पति घिउ र तेल उत्पादनमा नियन्त्रण गर्ने कानुन बनाइसक्ने निर्णय गरेअनुरूप कानुनको मस्यौदा बन्दै गरेको कानुन मन्त्रालयले जनाएको छ । ‘नसर्ने रोगहरू नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१–२५’ मा कानुन बनाउने बुँदा समेटिएको छ । सो कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

ट्रान्सफ्याटसम्बन्धी नीति बनाउनका लागि विभिन्न सरोकारवाला पक्षसँग नियमित रूपमा छलफल सरसल्लाह र सुझाव लिने काम भइरहेको जानकारी दिँदै डा.वैद्यले भन्नुभयो– ‘ अहिले विभागले नयाँ नीतिका लागि मस्यौदा तयार गरेको अवस्था छ । सरकारको यो निर्णयका आधारमा नेपालमा अबको दश महिनाभित्रै औद्योगिक खाद्य पदार्थहरूमा ट्रान्सफ्याटको मात्रा बढीमा २ प्रतिशतमा कायम गर्नुपर्ने हुन्छ ।’

नसर्ने रोगको प्रमुख कारणहरूमा धूम्रपान, मद्यपान, शारीरिक व्यायामका साथै ट्रान्सफ्याटयुक्त खाना पनि भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको छ । ट्रान्सफ्याट नियन्त्रणका लागि नीति कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी बोकेकोे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले ट्रान्सफ्याटसम्बन्धी नयाँ ऐन ल्याउने तयारी अगाडि बढाइसकेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।

उहाँले खाद्यसम्बन्धी ऐन २०२३ को दफा ७ मा भएको व्यवस्थाअनुसार अहिले ७७ वटै जिल्लामा खाद्य निरीक्षकले तोकेबमोजिम टीपीएम मेसिनबाट होटलहरूले प्रयोग गर्दै आएको तेलको गुणस्तर जाँच गर्ने काम शुरू गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व मुख्य सचिव तीर्थमान शाक्यले ट्रान्सफ्याटसम्बन्धी कानुन निर्माण गर्नुभन्दा कानुनको कार्यान्वयन महत्वपूर्ण कुरा रहेकोमा जोड दिनुभयो । सोही अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकालले भारत र बंगलादेशले ट्रान्सफ्याटसम्बन्धी नीति कार्यान्वयनमा ल्याइसकेकोले नेपाललाई नीति बनाई लागू गर्न सहज हुने बताउनुभयो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कार्यक्रम निर्देशक डा. प्रकाशराज रेग्मीले कानुन बनाउन प्रतिष्ठानले सरकारलाई लामो समयदेखि दबाब दिँदै आएको बताउनुभयो । उहाँले ट्रान्सफ्याट अर्थात् फ्याटी एसिड स्याचुरेटेड र अनस्याचुरेटेड गरी दुई किसिमको हुने जानकारी दिँदै भन्नुभयो– ‘तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताइकन नै स्याचुरेटेड फ्याट हुन्छ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड । मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट । यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक हुन्छ ।’

ट्रान्सफ्याट मिसिएका खाना खाँदा मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु¥याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरू गरिएको हो । वनस्पति तेलमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट ३५ देखि ६५ प्रतिशतसम्म हुन्छ । यसले मानवस्वास्थ्यमा प्रत्यक्ष हानि पु¥याउँछ ।

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपात निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई मिलाएर खानु सुरक्षित मानिन्छ । ट्रान्सफ्याट धेरै भएको खानेकुराले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । जस्तै मानवलाई फाइदा गर्ने कोलेस्ट्रोलले एचडीएल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोलले एलडीएल बढाउँछ । अहिलेसम्म पत्ता लागेअनुसार यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात पनि हुन सक्छ । २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खान मिल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने गरेको बताउँदै डा. वैद्यले ट्रान्सफ्याटयुक्त तेल र घिउमा बनाइएका मिठाइ, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फुडहरू नखानु नै राम्रो हुने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्सफ्याट सबैभन्दा धेरै प्रयोग हुने १० वटा देशहरूमा नेपाल पनि पर्दछ । अहिलेसम्म विश्वका ४५ भन्दा बढी मुलुकहरूले नीति कार्यक्रम र कानुनी प्रावधानमार्फत बजारमा उपलव्ध भएका खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत वा सोभन्दा कम बनाउने विश्व स्वास्थ संगठनको लक्ष्य पूरा गरेका छन् । दक्षिण एसियामा पनि भारत र बंगलादेशले ट्रान्सफ्याटलाई २ प्रतिशतमा सीमित गर्ने नीति पारित गरिसकेको छ ।