सिनियर डिभिजन एनसीसी तालिमको दिक्षान्त कवाज सम्पन्न

0
Shares

काठमाडौँ।

राष्ट्रिय सेवा दलद्वारा संचालित सि.सं.१७ सिनियर डिभिजन राष्ट्रिय क्याडेट कोर (एनसीसी) तालिमको दिक्षान्त कवाज आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सैनिक मञ्‍च टुँडिखेलमा सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका ५७६ जना क्याडेट छात्रछात्राहरु दिक्षित भएका छन् ।

 

सो अवसरमा क्याडेट छात्रछात्राहरुलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीले नैतिकवान, क्षमतावान र देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापित राष्ट्रिय सेवा दल तालिम सफलतापूर्वक सम्पन्न गरेका छात्रछात्राहरुलाई बधाई दिनुभयो । जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी उक्तिलाई आत्मसात गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति गर्व गर्दै सदैव अनुशासित रहन सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहेको औंल्याउँदै यस तालिमले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी श्री सुरेश कुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

 

माननीय रक्षा मन्त्री श्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, सम्बन्धित विद्यालयका प्रधान अध्यापक तथा अभिभावकहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको सो समारोहमा सिनियर डिभिजन तालिम सम्पन्न गरेका २७० छात्र र ३०६ छात्राहरु दिक्षित भएका थिए ।

त्यस अवसरमा मित्रराष्ट्रहरुका सैनिक सहचारीहरुका साथै युवा विनिमय कार्यक्रम मा सहभागी हुन आएका भारत, माल्दिभ्स र पाकिस्तानका NCC (National Cadet Corps) का Director General, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री दाहालले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गर्नुभयो ।

वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलमा प्रधानमन्त्री संरक्षक एवं रक्षामन्त्री तथा प्रधान सेनापति सह संरक्षक रहने व्यवस्था छ । वि.सं. २०७५ सालदेखि देशभर विस्तारित राष्ट्रिय सेवा दल कार्यक्रम अन्तर्गत हालसम्म सिनियर डिभिजनतर्फ १०,८५९ जना र जुनियर डिभिजनतर्फ ५५,९१७ जना गरी जम्मा ६६,७७६ जनाले तालिम सम्पन्न गरेका छन् ।

आजको समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षामन्त्री एवं प्रधान सेनापतिले दिक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।