सल्यानमा पालिका अस्पताल कतै अलपत्र, कतै जग्गा खोज्दै

0
Shares

सल्यान। 

सल्यानका आठ पालिकामा शिलान्यास भएका आधारभूत अस्पतालहरु अलपत्र परेका छन् । २०७७ साल मंसिर १५ गते तामझामका साथ ६ वटा पालिकामा १५ शय्या र २ वटा पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरिएका पालिका अस्पताल अलपत्र परेमा हुन  । शिलान्यास भएको दुई बर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भन्दै मन्त्री देखी पालिकाका जनप्रतिनिधि सम्मले चर्को स्वरमा आश्वासन बाँडे पनि केही पालिकाले सुरु गरेका अस्पताल अलपत्र परेका छन् पनि केहीले पालिकाले जग्गा बल्ल जग्गा खोज्दै छन्   ।

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीयहरू पनि खुसी भए । तर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पुरा हुन सकेको छैन । अस्पताल निर्माणको लागि शिलान्यास भएको २६ महिना हुँदा पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र परेको छ ।

कपुरकोट गाउँपालिकाका शोभाकर शर्माले स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल खलंगा वा जिल्ला बाहिरी जानुपर्ने बाध्यता रहेको बताउनुभएको छ । ‘पालिकामै विशेषज्ञ उपचार सेवा पाउने आसमा बसेको २६ महिना भएको छ, तर अहिले सम्म पनि भवन निर्माण भएको छैन, यसै बर्षदेखी मात्र भवन निर्माणको थालनी भएको छ, त्यो कहिले पुरा हुन्छ थाहा छैन’ उहाँले भन्नुभयो ‘आर्थिक जोहो गरेर उपचार गर्न जानुपर्ने हाम्रो बाध्यता छ ।’

छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पिडा पनि दिलमायाको भन्दा फरक छैन । तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो, तर अहिले काम हुन सकेको छैन, पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक वञ्चित भएका छन्’ उहाँले भन्नुभयो ।

कालीमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण कार्य जारी छ । शिलान्यास भएर पनि जग्गा अपुग हुँदा निर्माण रोकिएको बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसै बर्षदेखी सुरु भएको भएको नगरपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाको लेख पोखरामा अस्पताल भवन निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले जग्गा सम्म्याउने र छड लगायतका सामाग्री निर्माण स्थल सम्म पुर्याएपनि बाँकी काम अघि बढ्न सकेको छैन । शिलान्यास भएको स्थानमा जग्गा कम हुँदा कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण कार्य रोकिएको छ । अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा नै शिलान्यास गरेर निर्माण सुरु भएकाले अहिले भवन निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

‘पहिले गरिएको डिपिआर स्वीकृत भएन्, जग्गा कम हुँदा रकम निकासामा पनि समस्या भएको छ, जग्गाको व्यवस्थापन नगरेर शिलान्यास गरेर कामको थालनी गर्दा समस्या भएको हो’ उहाँले भन्नुभयो ‘अहिले समस्या समाधान हुँदै छ, थप जग्गा प्राप्तिको लागि पहल पनि गरिरहेका छौँ ।’ उता सिद्ध कुमाख गाउँपालिकाको कालालेखमा अस्पतालको शिलान्यास भएपश्चात् थप काम हुन सकेको छैन ।

बागचौर नगरपालिकाले अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । नगरप्रमुख जनकराज गौतमले १० शय्याको अस्पताल निर्माणका लागि बजेट आएको र भवन निर्माणको लागि जग्गा प्राप्तिको क्रममा रहेको बताउनुभयो । जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरु ६ वटा पालिकामा भवन निर्माणको काम सुरु भएको थियो ।

सिद्धकुमाख गाउँपालिकामा पहिले शिलान्यास गरिए पनि जग्गा अपुगका कारण भवन निर्माण सुरु नभएको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भयो । जग्गा दादा खोजिरहेको र जग्गा प्राप्त हुने बित्तिकै काम सुरु गर्ने उहाँले बताउनु भयो ।  दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुँदै छ । कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ ।