बालाजु घटना : दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस

0
Shares

काठमाडौँ ।

काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा लापरबाही गरेको भन्दै दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ।

बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ।

यही फागुन १ गते भएको आन्दोलनका क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडीमा तोडफोड गरी जलाइएको थियो।

यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो।

यस्तै ल्होत्से मलमा तोडफोड हुनुका साथै एसिडिसी र डाइमण्ड मोबाइल पसलमा लुटपाट भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ।

उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ।