ललितपुरमा पाइने महत्वपूर्ण वनस्पतिहरुबारे लेखिएको पुस्तक सार्वजनिक

0
Shares

ललितपुर।

ललितपुर महानगरले महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुको व्याख्या गरिएको पुस्तक प्रकाशित गरेको छ ।

नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउन्डेसनको संयोजनमा तयार पारिएको उक्त महानगरले प्रकाशित गरेको हो । उक्त पुस्तक वनस्पति विज्ञद्धय डा. पुष्पमान अमात्य र हरिकृष्ण सैंजुले लेखेका हुन् । अमात्य महानगरका वनस्पतिविज्ञ सल्लाहकार हुन् ।

पुस्तकमा महानगरको २९ वटै वडामा अनुसन्धानका क्रममा भेटिएका ३० प्रजातिका वनस्पतिका बारेमा वर्णन गरिएको छ । पुस्तकमा समेटिएका वनस्पति मध्ये भालुकाठ र गुँसी लोपउन्मुख वनस्पति हुन् । भालुकाठ वडा नंं.३मा छ भने गुँसी महानगरको वडा नं ४मा अवस्थित सदर चिडियाखानाभित्र रहेको छ । पुस्तकका लेखक हरिकृष्ण सैंजुले भने, ‘भालुगाठ संसारको दोस्रो सुन्दर फूल फुल्ने वनस्पति हो । ’ ललितपुर महानगरभित्रका प्रत्येक वडा पुगेर यो पुस्तक तयार पार्न १ वर्ष लागेको थियो ।

महानगरको वडा नं १९मा रहेको अग्निशालसँगैको वरुण वृक्षको इतिहास ललितपुर महानगरको लागि मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण भएको प्रा.डा पुष्पमान अमात्यले बताए । इतिहासमा उल्लेख भए अनुसार यो वृक्ष ३ हजार वर्ष पुरानो वृक्ष हो । अमात्यले यो पुस्तक ललितपुर महानगरको सम्पत्ति भएको बताए । उनले भने, ‘ यो पुस्तकले ललितपुरका वनस्पतिको डकुमेन्टेसन भएको छ, यसको श्रेय ललितपुरका मेयरलाई जान्छ । ’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले प्रकाशित गरेको यो पुस्तक वनस्पति क्षेत्रका विद्यार्थी र विज्ञहरुका लागि पनि उपयोगी हुने बताए । वातावरण संरक्षणका लागि महानगरले वृक्षारोपणलाई प्राथमिकता दिएको बताए । उनले महानगरका वडा अध्यक्षहरुलाई सुझाव दिदैं भने, खाली ठाउँ कहिंकतै नराख्नुस्, वृक्षारोपण गर्नुस् । महानगरले विरुवा रोप्ने मात्रै नभई त्यसको संरक्षणलाई पनि त्यति नै प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ हामी विरुवा मात्रै रोप्दैनौं, पानी हाल्छौं , हुर्कन मल हाल्छौं, विरुवा सफा देखियोस् भनेर विरुवालाई नुहाइदिन विशेष खालको ट्याङकर किनेका छौं । ’ उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो पुस्तक महानगरको सम्पत्ति भएको बताइन् । महानगरलाई योजना तर्जुमा गर्न समेत यो पुस्तकले सहयोग गर्ने तर्क गरिन् ।