ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार भन्दा बढी चालकमाथि कारबाही

0
Shares

काठमाडौँ।

चालु आर्थिक वर्ष (२०७९/८०) को साउनदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालकलाई CCTV को सहायताबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको CCTV कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना , पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू रहेका छन् ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।

प्रविधिमैत्री बन्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन वि.सं. २०७४ सालबाट CCTV र वि.सं. २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ ।