सांसद भण्डारीको भेन्टिलेटर हटाइयो


काठमाडौँ।

ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए ।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।