बाबियाचौरमा नवनिर्मित मंगला इन्द्रेणी पार्क तथा सङ्ग्रहालयको उद्घाटन

0
Shares

म्याग्दी । 

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा नवनिर्मित मंगला इन्द्रेणी पार्क तथा मंगला खड्ग नन्द सङ्ग्रहालयको आज (आइतबार) उद्घाटन भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका र मंगला युथ क्लबको आर्थिक सहयोगमा निर्मित पार्क र सङ्ग्रहालयको उद्घाटन गरिएको हो ।

पार्क निर्माण गर्न तथा सङ्ग्रहालय बनाउनका लागि यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यसैगरी मंगला युथ क्लब बाबियाचौरले दुईलाख, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले एकलाख र बाँकी बजेट मंगला गाउँपालिका आफैले लगानी गरेको जनाइएको छ ।

मंगला–२, बाबियाचौर स्थायी घरभई हाल काठमाडौं निवासी क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा नि:शुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क तथा सङ्ग्रहालय निर्माण गरिएको मंगला गाउँपालिकाले जनाएको छ । नवनिर्मित पार्क र सङ्ग्रहालयको आज गाउँपालिकाका अध्यक्ष रोका र जग्गादाता क्या. अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

बाबियाचौरमा नवनिर्मित मंगला इन्द्रेणी पार्कको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रोकाले बालिबालिका र ज्येष्ठनागरिकलाई भुलाउन पार्क निर्माण गरिएको बताउनुभयो । उहाँले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरुको समेत सङ्गमस्थल बनाउने उद्देश्यसहित मंगला इन्द्रेणी पार्कको परिकल्पना गरी पार्क निर्माण गरिएको जानकारी दिनुभयो ।

सोही अवसरमा जग्गाधनी क्या. अधिकारीको नवनिर्मित अर्धकदको शालिकको पनि अनावरण गरिएको थियो । अर्धकदको शालिक, भवन र पार्कको उद्घाटन गर्दै जग्गादाता क्या. अधिकारीले बालबालिका र ज्येष्ठनागरिकलाई मनोरञ्जन दिलाउने संरचना बनाउनका लागि आफूले नि:शुल्क रुपमा जग्गादान गरेको बताउनुभयो ।

खासगरी बजार क्षेत्रमा रहेका बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन र ज्येष्ठनागरिकले समेत सहज रुपमा समय बिताउनका लागि पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ । गएको आर्थिक वर्षमा निर्माणसम्पन्न इन्द्रेणी पार्क र सङ्ग्रहालय निर्माणमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा सहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ र स्वच्छ हावा लिनका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माणको अवधारणा अगाडि सारिएको छ ।

अहिले मंगलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरु पार्कमा पुगेर रमाउन थालेका छन् । पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्ने लगायतका फनपार्कका संरचनाहरु जडान गरी सञ्चालन गरिएको छ । आगामी दिनमा बालबालिकालक्षित अन्य संरचनाहरु थपिने तथा ज्येष्ठनागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्नेलगायत संरचनाहरु जडान गरिने मंगला गाउँपालिकाको योजना रहेको छ ।

पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरुलाई पनि सहज भएको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीनवटा प्याराफिटहरु निर्माण गरिएका छन् । मंगला इन्द्रेणी पार्क परिसरभित्र सङ्ग्रहालय स्थापनाको लागि भवन निर्माण गर्नुका साथै पार्कमा आउनेहरुलाई लक्षित गरेर पक्की शौचालय समेत बनाइएको छ । यसैगरी पार्कमा अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएको छ भने पार्कको वरिपरी घेराबार लगाउनुका साथै जग्गाधनीको अर्धकदको शालिक पनि बनाइएको छ ।

इन्द्रेणी पार्कमा खेल्न आउने बालबालिकाहरुको लागि खेलकुदका थप सामग्री तथा सङ्ग्रहालय सञ्चालन र ज्येष्ठनागरिकहरुले व्यायाम गर्नका लागि आवश्यक पर्ने उपकरणसहितका सामग्रीहरु खरिद गरिने मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । बाबियाचौरमा निर्मित इन्द्रेणी पार्क मंगला गाउँपालिकाको गौरवको योजना रहेकाले विभिन्न संरचनाहरु बनाइएको उहाँले बताउनुभयो ।

इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफुलका विरुवाहरु रोपिएको छ । सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्नेगरी पार्क निर्माण गरिएको हो । बाबियाचौरमा पार्क निर्माणसँगै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।