सार्वजनिक विदामा ‘सरकारी सेवा’

0
Shares

काभ्रे। 

शनिबार र  प्रजातन्त्रको दिवसको  अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको समयमा पनि जिल्ला प्रशासन कार्यालय मार्फत नागरिकहरुले सरकारी सेवा प्राप्त गरेका छन् ।

‘सेवाको सुनिश्चितता र सहजता प्रमुख उद्देश्य हो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘राहदानीमा भएको अनलाइन सेवाबाट झन्झटिलो, खर्चिलो र अत्यासलाग्दो थियो । नागरिकहरु सरासर आउँदा सरासर सेवा पाउने व्यवस्था मिलाउन सार्वजनिक बिदाको समयमा पनि नागरिकलाई सेवा प्रदान गरेका हौं ।’ शनिबार र आइतबार लगातार सार्वजनिक बिदा हुँदा नागरिकहरुलाई राहदानी लिने प्रक्रिया झनै लामो हुने थियो । शुक्रवार नै शनिवारका लागि ८५ जनाको टोकन र टाइम कार्ड उपलब्ध गराइएको थियो ।

शनिबार आइतबारका लागि टाइम र टोकन कार्ड उपलब्ध गराइएको थियो । सोही आधारमा नागरिकहरु बिदाको दिनमा पनि सरकारी सेवा लिन आएका थिए । ‘बिदाको दिन सहज र सरल ढंगबाट सेवा लिन पाउँदा खुसी भएको छु’–सेवाग्राही शिवहरी खतिवडाले भन्नुभयो–‘जिल्ला प्रशासन कार्यालयले राहदानीका लागि बेहोर्नु परेको झन्झटिलो प्रक्रियालाई अन्त्य गराएकोमा नागरिकहरुको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

अनलाइनबाट फाराम भर्दा नागरिकहरुले समयमा नै आफ्नो विवरण अपडेट गर्न सकिरहेका थिएनन् । साइबर तथा अन्य व्यक्तिलाई लगाउँदा पैसा, समय र श्रम समेत खेर गएको थियो । माग धेरै सेवा उपलब्ध गराउने अवस्था थोरै भएकाले नागरिकहरुलाई परेको कठिनाइ सहज बनाउन प्रशासन कार्यालयले बैक काउन्टर समेत बिदाको दिन संचालन गरेर नागरिकहरुलाई सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्याल र सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतको टोली दुवै दिन विदामा कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । अन्य कर्मचारीहरु पनि राहदानीका लागि नियमित काममा खटिनु भएको थियो । राहदानीका लागि तीन स्थानमा जानु पर्ने प्रक्रियालाई पनि हटाइएको छ । राष्ट्रिय परिचयपत्र तथा अन्य सेवाका लागि सकेसम्म एकै स्थानबाट सेवा उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको छ ।

‘राहदानी प्राप्त गर्न आउने सेवाग्राहिहरुका लागि टोकन प्रणाली सुरु गरिएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले भन्नुभयो–‘टाइम कार्ड र टोकन एकै पटक वितरण गरे पछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैले गरिदिने छ । यसले नागरिकहरुले अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण हुनेछ ।’

राहदानीको फाराम भरे बापत साईबरहरुले २ सय देखि ५ सय रुपैयाँसम्म असुल्दै आएका थिए भने जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेको थियो । ‘झन्झटिलो प्रक्रियालाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक टाइम र टोकन एकै पटक वितरण गरेका हौै’–प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो–‘सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागु गरिनेछ ।’ राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नु पर्नेछ । टोकन र टाइम लिएको व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने छैन । पहिलो दिन उसले आफ्नो समय नपाएको अवस्थामा उसले प्राप्त गरेको दिन र समयमा आएर आफ्नो कार्य गर्न सक्नेछ ।