डडेल्धुरा महोत्सवमा माटो परीक्षण सेवा 

0
Shares

डडेल्धुरा।

डडेल्धुरा सदरमुकाम टुँडिखेलमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सवमा माटो परीक्षण सेवा शिविर सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई, कृषि ज्ञान केन्द्र डडेल्धुरा र तरकारी जर्मप्लाजम सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रको आयोजनामा माटो परीक्षण सेवा शिविर सञ्चालन भइरहेको हो ।

महोत्सवमा आयोजित जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी कार्यक्रममा माटो परीक्षण सेवा शिविर सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी र कृषि फर्महरूले फागुन १० गतेभित्र माटोको नमुना पठाइसक्नु पर्नेछ ।

किसानले खेती गरिरहेको माटो पुर्खौँदेखि प्रयोग भइरहेको तर त्यसको उपचार नभएकोले माटो परीक्षण सेवा शिविर सञ्चालन गरिएको तरकारी जर्मप्लाजम सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रका प्रमुख लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो ।

व्यवसायीक कृषि उत्पादनमा अग्रणी मानिने डडेल्धुरामा विगतका बर्षहरुको तुलनामा पछिल्लो समय गाईबस्तुको मल कम प्रयोगमा कमि आएको र रसायनिक मल तथा विषादीहरुको अवैज्ञानिक र अनियन्त्रित प्रयोग बढ्दै गएकाले माटोको उर्वरा शक्ति हस भइरहेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्कले देखाएको छ ।

माटो परीक्षण गरेर त्यसको अवस्था के छ भनेर बुझ्न सकिने कृषि प्रावधिकहरु बताउँछन । माटो विरामी भएको भए अर्थात् माटोको उर्वरा शक्ति कमजोर भएको पाइएमा त्यसको उपचार गर्ने विधि बारेमा शिविर सहभागी कृषि प्राविधिकले कृषकलाई जानकारी दिने गरेका छन् ।

जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी कार्यक्रममा कृषकहरूले उत्पादन गरेका कृषि सामग्री समेत राखिएको छ । पर्दशनीमा राखिएका बिभिन्न कृषि उपजहरुमध्ये उत्कृष्ट उत्पादनलाई पुरस्कृत गरिने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

फागुन ४ गतेदेखि जारी महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।