‘सहकारीमा २५ लाख रुपैयाँ मात्रै राख्ने व्यवस्था संशोधन हुन्छ’

विन्धवासिनीले बनायो १० करोडको बहुउद्देश्यीय भवन

0
Shares

काभ्रे। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले सहकारीमा २५ लाख रुपैयाँ मात्रै राख्न पाउने व्यवस्था गर्न लागेको ऐन कार्यान्वयन नहुने बताउनु भएको छ । मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सहकारी क्षेत्रलाई तहस नहस बनाउन उक्त ऐन परिवर्तन हुने मन्त्री राईले बताउनु भयो ।

जिल्लाको गौरव विन्धवासिनी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवस तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सबै नेपालीलाई धनी र खुशी बनाउने अभियानमा सरकार सक्रिय भएको बताउँदै मुलुकमा आर्थिक संकट देखिन थालेको स्पष्ट पार्नु भयो । ‘अहिले अर्थतन्त्र कमजोर छ, कमजोर अर्थतन्त्र सुदृढ बनाउन सरकार सक्रिय भएको छ’–मन्त्री राईले भन्नुभयो–‘मुलुकमा पैसा छैन । पैसा विना विकास सम्भव छैन । पैसा जम्मा गर्ने र कमजोर भएको अर्थतन्त्रलाई सुदृढ गर्ने अभियानमा हामी सक्रिय छौँ ।’

सहकारी क्षेत्रमा केही समस्या देखिन थालेको बताउँदै मन्त्री राईले सहकारी क्षेत्रको समस्याको जड पत्ता लगाउँदै त्यसको समाधानका लागि मन्त्रालयले कार्य सुरु गरेको बताउनु भयो । ‘जनताको न्यूनतम आय कति बढायौँ ? उत्पादन कति बढ्यो ? गरिबी न्यूनीकरण कति घट्यो ? सहकारी अभियानको महत्त्वपूर्ण पाटो त्यही हो’–मन्त्री राईले भन्नुभयो–‘सामूहिक लगानी, वितरण र उत्पादन अर्थतन्त्र बलियो बनाउने माध्यम हो ।’

१० करोड लागतमा निर्माण भएको बहुउद्देश्यीय भवनको क ब्लक ५ तल्लाको छ । भुईतल्लामा पार्किङ छ । पार्किङमा ३३ वटा गाडी र १ सय ५० वटा बाइक राख्न सकिनेछ । पहिलो तल्लामा बनेपा सेवा केन्द्रको कार्यालय राखिएको छ भने दोस्रो र तेस्रो तल्लामा कर्पोरेट कार्यालय रहनेछ । माथिल्लो तल्लामा तालिमको आवासीय क्षेत्र राखिएको छ । १३ वटा कोठामा ३३ जना अटाउन सक्ने क्षमता छ ।

ख ब्लकमा सहकारी सदस्यहरुले उत्पादन गरेका सामाानहरुको स्टोरेज, विक्री वितरणका लागि सटर राखिएको छ । त्यही तल्लाको माथि रेस्टुरेन्ट राखिएको छ । जिल्लाको नमुना र एक मात्र बहुउद्देश्यीय भवनमा लिफ्ट सहितको सुविधा छ । अपाङ्गमैत्री भवन निर्माण गरेको विन्दवासिनी सहकारीले स्थापनाको ३० वर्षको माघ मसान्तसम्म ४६ करोड ७२ लाख ७३ हजार ३ सय रहेको छ भने तरलता रकम ६३ करोड ४५ लाख २७ हजार २ सय ६८ रुपैयाँ रहेको छ । जगेडा कोष तथा अन्य कोषमा ४४ करोड ९० लाख ७५ हजार २ सय ४ रुपैयाँ, संस्थागत पुँजी ३१ करोड ५७ लाख ६६ हजार ७ सय ६२, बचत ३ अर्ब ४ करोड, २९ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बचत रहेको छ । कुल सम्पत्ति ४ अर्ब ४२ करोड ९ लाख ५० हजार ४ सय ७२ रुपैयाँ रहेको छ ।

४८ हजार २ सय ६० शेयर सदस्य र ९ हजार ४ सय ९८ शैक्षिक बाल बचत कर्ता गरी ५७ हजार ७ सय ५८ सदस्यसहित ७ वटा सेवा कार्यालय, ७ वटा सेवा केन्द्र र कर्पोरेट कार्यालयमा ९९ जना कर्मचारी कार्यरत छन् । ३ सय ६५ दिन नै सन्ध्याकालीन सेवा प्रदान गरेको विन्दवासिनी सहकारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र मार्फत पुरस्कृत गरिएको छ ।

स्थापना दिवसको अवसरमा प्रमुख कार्यकारी अधिकृत केवी लामा लगायत उत्कृष्ट कर्मचारी, सेवा केन्द्र र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी रजिस्ट्रार नवराज घिमिरे, राष्ट्रिय सहकारी बैकका अध्यक्ष किवी उप्रेती, नेफ्ुकुन अध्यक्ष परितोष पौडेल, प्रोस्कुन अध्यक्ष उद्धव सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।