देशमा सुरक्षा चुनौती झन् बढ्दै गयो : प्रधानसेनापति शर्मा

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले देशमा सुरक्षा चुनौती झन् बढ्दै गएको बताउनु भएको छ। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवको उपलक्ष्यमा शुक्रबार सम्बोधन गर्दै प्रधान सेनापतिले शर्माले देशमा सुरक्षा चुनौती झन् बढ्दै गएको बताउनु भएको हो।

नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- हिजो भन्दा आज र आज भन्दा भोली सुरक्षा चुनौतीहरु झन झन संवेदनशील र पेचिलो बन्दै गईरहेको हुँदा आइपर्न सक्ने जस्तोसुकै परिस्थितीको सफलतापूर्वक सामना गर्न सकलदर्जाले पेसागत ज्ञान, सिप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइ राख्नु आजको आवश्यकता हो ‘।

सोही क्रममा उहाँले नेपाली सेनाले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कुटनीति अनुरुप अगाडी बढ्दै गईरहेको कुरा उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सरकार तथा नेपाली जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुको लागि उच्च पेसागत क्षमता र हौसलाका साथ हरहमेशा तयारी रहनु पर्ने हुँदा उपलब्ध श्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिनभयो ।

नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, नि:स्वार्थपन, गैरराजनीतिक चरित्र, व्यवसियकता, अनुशासन र कर्तव्यपरायणता जस्ता मुल्य र मान्यतालाई कायम राख्दै आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न सकलदर्जालाई सुझाव दिँदै प्रधान सेनापतिले अस्वाभाविक व्यक्तिगत महत्त्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।

वि.सं.१८१९ मा नेपाली सेनामा ५ वटा कम्पनीहरु स्थायी रुपमा खडा भएको थियो । सोही वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवाती वर्षका रुपमा लिँदै यस पटकको महाशिवरात्रीका दिन २६० औं सेना दिवश मनाइँदै छ ।