‘आइक्यूमा नेपाल सबैभन्दा कमजोर, राजनीति चराले गर्ने कुरा होइन’

अहिलेको पुस्ता टिकटकमा रुमलिएको दाबी

0
Shares

धनगढी । 

नेपाली काँग्रेसकी नेतृ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आइक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्। आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनले आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै त्यो रिपोर्टमा नेपालको आइक्यूको दुखलाग्दो अवस्था दर्शाइएको दाबी गरिन्। उनले भनिन्, ‘एउटा रिपोर्ट हेरे, त्यसमा यस्तो कुरा छ। के भन्ने अब ?  दुखलाग्दो कुरा छ। संसारको सबैभन्दा कम आइक्यू हुने देशमध्ये नेपाल पनि एक रहेछ। हाम्रो शिक्षाको प्रणालीमा केही पनि मिलेको छैन।’ अहिलेको शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने उनको जिकिर छ।

यस्तै उनले अहिलेको पुस्ता सामाजिक संजाल र टिकटकमा रुमलिएको भन्दै दुख व्यक्त गरेकी छन्। उनले अहिलेको पिढी धेरै ट्यालेन्ट होला भनेर लागेकोमा त्यस्तो नभएको बताइन्।,

‘अहिलेको पिढी धेरै ट्यालेन्ट लाग्थ्यो’, आरजूले भनिन्, ‘तर, अहिलेको आइक्यूकको ग्लोवल रिपोर्टले चाही त्यस्तो देखाएन, किन भने अहिलेको जेनेरेसन टिकटकमा लागेको छ। त्यसमा भिडिओ बनाउँछ। यो टेरेन्ड चाही राम्रो होइन। पहिला हामी एकदमै धेरै पढ्थ्यौ तर अहिले त छोडिसके।’
त्यसैले अहिmेका विद्यार्थी नेताहरुले विषयगत कुरा पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

स्ववियूमा राम्रो मान्छे उठाउन निर्देशन

यस्तै उनले अब हुने स्ववियू निर्वाचनमा राम्रो मान्छेलाई उम्मेदवार बनाउन निर्देशन दिएकी छन्।

उनले भनिन्, ‘अब एकदमै सोचेर सम्झेर मात्र क्याम्पसहरुमा कसले जित्न सक्छ ? को टपर छ ? कसले नेगोसियसन गर्न सक्छ। कसले सबैलाई चिन्छ ? यो सबै कुरालाई सोचेर मात्र उम्मेदवार उठाउनुहोला।’

उनले थपिन्, ‘बारिहबाट टपक्क मान्छे टिपेर ल्याउने अनि चुनाव भन्दा २ दिन अगाडि मान्छेलाई खडा गरेपछि त्यहाँ त्यो मान्छे कसरी जित्छ ? कसैले चिनेको पनि हुदैंन। र अहिलेको भोटरले त सिधा सम्पर्क खोज्छ। यो सबै गरेपछि मात्र हामी इलेक्सनमा सफल हुन सक्छौ।’ त्यसकारण उनले हरेक भोटर एकता गर्न सक्नुपर्ने र त्यो गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेकी छन्।

‘हामीले राजनीति भनेको कुन चरोले गर्ने कुरा हो भनेर सोच्नु हुदैन। राजनीति कुनै चराले गर्ने कुरा पनि होइन,  मन्त्री र प्रधानमन्त्रीले मात्र राजनीति गर्दैन। हाम्रो हरेक दिनको दैनिक कुरामा पनि राजनिती हुन्छ। यो कुरालाई नबिर्सिएर तपाईहरुले तयारी गर्नुहोला,’ उनले भनिन्। राजनीतिले महिलाहरु पनि शसक्त हुने र उनीहरुको जिन्दगी अगाडि बढ्ने उनको भनाइ छ।