रोजगार मूलक नागरिक उत्पादनका शिक्षालाई प्रविधिसँग जोड्नु पर्छ : प्रमुख सचेतक चौधरी

0
Shares

बुटवल।

नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउनु भएको छ । रोजगारमूलक नागरिक उत्पादनका लागि शिक्षालाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभयो ।

रुपन्देहीको सियारीमा सञ्चालित दुर्गा शैक्षिक गृह स्कुलको २० औँ वार्षिक उत्सवसमारोहमा बोल्दै शिक्षालाई प्रविधिसँग नजोड्दासम्म शैक्षिक बेरोजगारको अन्त्य नहुने बताउनुभयो ।

उहाँले कोरा प्रमाण पत्रले मात्र देश नबन्ने बताउँदै सबै देशमा बिक्ने नागरिक उत्पादन गर्न सबै स्कुलहरुले प्राविधिक शिक्षा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

शैक्षिक बेरोजगारको अन्त्यका लागि राज्य र निजी क्षेत्र दुवैले प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको संवृद्धिका लागि कृषि, पर्यटन र वनलाई औधद्यौगिक कारण गर्नुपर्ने बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख दीपेन्द्र ढकालले शिक्षामा सूचना प्रविधिको उच्चतम् उपयोग गर्नुपर्ने बताउनुभयो ।विद्यार्थीको पहिलो पाठशाला आफ्नै घर भएकाले आफ्ना छोराछोरीलाई अनुशासित बनाउन घरमा बाउआमालाई राम्रो संस्कार दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा दुर्गा शैक्षिक गृह स्कुलका प्रबन्धक निर्देशक राजन ज्ञवाली, प्याव्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, प्याव्सन रुपन्देही अध्यक्ष अनन्तराम शर्मा, पुस्तक व्यवसायी महासंघका पूर्व अध्यक्ष हरि अर्याल, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, स्कुलका प्राचार्य कविराज पौडेल लगायतले बोल्नुभएको थियो ।

विद्यालयकी अध्यक्ष सुजाता ज्ञवालीको अध्यक्षता, विद्यार्थी हिंमांशी पाण्डे र विशस पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।