सालक, किसानको साथी

0
Shares

हेटौंडा ।

वागमती प्रदेशका बन तथा वातावरण मन्त्री राजु बिष्टले सालक किसानको साथी भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा डिभिजन बन कार्यालय मकवानपुर र राप्तीले संयुक्तरुपमा शुक्रबार मनहरीमा गरेको कार्यक्रममा मन्त्री बिष्टले यसको संरक्षणमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

किसानको शत्रुजीवका रुपमा रहेको कमिला र धमिरा खाएर आफ्नो जीवनयापन गर्ने लजालु जीवलाई संरक्षण गर्नसके उत्पादनसमेत वृद्धि हुने उहाँले बताउनुभयो । आफू सामुदायिक बनको नेतृत्वमा रहँदा यसको संरक्षण र जनचेनतामूलक काम गरेको स्मरण गर्दै मन्त्री बिष्टले मन्त्रालयले सालक संरक्षणमा सदैैंव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री बिष्टले सालकबारे तयार गरिएको गीतको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा वागतमी प्रदेश बन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले मन्त्रालयले सालक संरक्षणका लागि चालु आवमा ५ करोड रकम विनियोजित गरेको बताउनुभयो । नेपालमा सालक संरक्षणको अभियान २०३० सालदेखि शुरु भए पनि हाल यसको सार्थकता बढेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बन तथा भुसंरक्षण विभागका महानिर्देशक देवोष्मणि त्रिपाठी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, डिभिजन बन कार्यालय मकवानपुर प्रमुख शिव सापकोटा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागार्इं, संरक्षणकर्मी तुलसीलक्ष्मी सुवाल, डिभिजन बन कार्यालय राप्तीका शम्भु तामाङलगायतले सालकबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक बन र विद्यालयका विद्यार्थीले सालकसम्बन्धि जनचेतनामूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

हेटांैडा–६, चौघडामा रहेको रानी सामुदायिक बनले २०६१ सालदेखि सालक संरक्षण गर्दै आएको छ । हाल समूहको क्षेत्रभित्र करिब ५० वटा सालक रहेको अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । घाइते सालकको उद्धार गर्न समूहले ब्लक–५ मा सालक केज निर्माण गरेको छ । अत्यन्त लजालु सालकको बासस्थान र यसको आहार वृद्धि गर्नसके मकवानपुरलाई सालकको गौरवको जिल्ला घोषणा गर्न सकिने संरक्षणकर्मीहरु बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, खपटाको व्यापार गर्ने, ओसारपसार गर्नेलाई १ लाखदेखि ५ लाखसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । विश्वमा ८ प्रजातिका सालक पाइन्छ भने नेपालमा कालो र तामे गरी २ प्रकारका सालक पाइन्छ ।