फन रनमा दौडिए चिनियाँ राजदुत चेन

0
Shares

काठमाडौं ।

चीनको हाङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदको सफलताको कामना गर्दै शुक्रबार पाटन दरबार परिसरमा ‘एसियन गेम्स फन रन’ आयोजना गरियो ।

ओलम्पिक कमिटी (एनओसी) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको फन रनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन सङसहित ओलम्पिक कमिटीका पदाधिकारी, युवा तथा खेलकुद मन्त्रालयका तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

फन रनमा दौडिएका चिनियाँ राजदुत चेनले नेपाल समाचारपत्रसँग कुरा गर्दै फन रनमा सहभागी हुँदा खुशी लागेको बताउनुभयाे । उहाँले आगामी एसियाली खेलकुदमा नेपालको सफलताको कामना पनि गर्नुभयो । फन रन पाटन दरबार स्क्वायरबाट शुरु भएर गाः बहाल, पुल्चोक, कृष्णगल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हुँदै पुनः पाटन दरबार स्क्वायरमा आएर सम्पन्न भएको थियो ।

सन् २०२२ मा हुनुपर्ने एसियाली खेलकुद कोभिड महामारीका कारण स्थगित भएको थियो । सोही खेलकुद आगामी सेप्टेम्बरमा हुने भएकोले सो खेलकुदमा सहभागी सबै देशमा यस्तो फन रनको आयोजना गर्ने गरिन्छ । दक्षिण एसियाका अधिकांश देशमा फन रनको आयोजना भैसकेको छ । चीनमा हुन लागेको एसियन खेलमा ५६ भेन्यु हुनेछ भने ३१ वटा ट्रेनिङ हुने बताइएको छ । यस पटक ४० खेलको ४ सय ८३ ईभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ ।