कांग्रेस वरिष्ठ नेता पौडेल र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

0
Shares

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गर्नुभएको छ ।

नेकपा (एमाले)ले नेमकिपाका अध्यक्ष बिजुक्छेंलाई पनि राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत गर्दैगर्दा कांग्रेसको तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुर कमलविनायकस्थित बिजुक्छें निवास पुग्नु भएको थियो ।

पौडेलले बिजुक्छे निवासमा बिहीबार साँझ २ घण्टा छलफल गरेको नेमकिपा स्रोत बताउँछ । उहाँले बिजुक्छेसँग वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरेका बताईएको छ ।

वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुई नेताबीच छलफल भएको भेटमा सहभागी तरुण दलका पूर्वअध्यक्ष एवं भक्तपुर कांग्रेस नेता विनोद प्रकाश कायस्थले बताउनुभयो ।

फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ । त्यस्तै गत माघ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बिजुक्छेसँग भेटवार्ता गर्नुभएको थियो ।

चाँगुनारायण मन्दिर दर्शनपछि राष्ट्रपति भण्डारी सिधै भक्तपुरस्थित बिजुक्छे निवास पुग्नु भएको थियो । भेट गरेपछि राष्ट्रपतिका रूपमा बिजुक्छेको नाम पनि चर्चामा छ ।

सत्ता गठबन्धनमा गत पुस १० मा भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आनाकानी गरेपछि एमाले अध्यक्ष ओलीले राष्ट्रपतिका लागि एमाले बाहेकका अन्य नेताको खोजी थालेको राजनीतिक वृत्तमा चर्चा छ ।