अब काभ्रेबाट राहदानी लिन सधैँ सहज 

जिल्ला प्रशासनमा ‘टोकन र टाइम’ कार्ड लागू

0
Shares

काभ्रे। 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि ५ वटा अभियान सुरु गर्नु भएको छ । बिहीबार कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले केही दिन असुविधा जस्तो देखिए पनि दीर्घकालीन रुपमा सहज हुने गरी कार्य प्रारम्भ गरिएको बताउनु भयो ।

पौडेल माघ १६ गते काभ्रेमा हाजिर हुनु भएको हो । हाजिर भए लगत्तै उहाँले प्रशासनबाट हुने सेवालाई प्रभावकारी र सरल बनाउने प्रयत्नलाई प्राथमिकतामा राख्नु भएको छ ।

‘राहदानी प्राप्त गर्न आउने सेवाग्राहीहरूका लागि टोकन प्रणाली सुरु गरिएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले भन्नुभयो–‘टाइम कार्ड र टोकन एकै पटक वितरण गरे पछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैले गरिदिने छ ।

 

यसले नागरिकहरूले अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण हुनेछ ।’ राहदानीको फाराम भरे बापत साइबरहरूले २ सय देखि ५ सय रुपैयाँसम्म असुल्दै आएका थिए भने जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेको थियो ।

‘झन्झटिलो प्रक्रियालाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक टाइम र टोकन एकै पटक वितरण गरेका हौै’–प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो–‘सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागु गरिनेछ ।’ राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नु पर्नेछ ।

टोकन र टाइम लिएको व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने छैन । पहिलो दिन उसले आफ्नो समय नपाएको अवस्थामा उसले प्राप्त गरेको दिन र समयमा आएर आफ्नो कार्य गर्न सक्नेछ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयले बिदाको दिनमा समेत कार्य गर्ने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । राष्ट्रिय वाणिज्य बैकको काउन्टर पनि बिदाको अवधिमा खोल्ने गरी प्रशासन कार्यालयले व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र नलिने व्यक्तिहरूले पहिले त्यहाँ फोटो खिचाएको तीन दिन पछि मात्रै राहदानीको फाराम भर्न सक्नेछन् ।

नागरिकलाई अनावश्यक झन्झट हुन नदिन तथा घण्टौँ लाइनमा बस्न नपर्ने उद्देश्यले टाइम र टोकन प्रणाली सुरु गरिएको हो । यो अवधिमा ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने फरक व्यवस्था गरिएको छ । राहदानीको फाराम भरे सँगै सेवाग्राहीले आफ्नो विवरण आफै हेरेर मात्रै सही छाप गरेपछि प्रशासनले प्रक्रियालाई अगाडी बढाउने छ । यो प्रक्रियाले प्रशासनमा राहदानी तथा अन्य सेवाका लागि हुने भिड नियन्त्रण हुन सक्ने अपेक्षा प्रशासनले गरेको छ ।