ल्होत्से मल घटनामा संलग्न थप १५ जना पक्राउ, अधिकांश चालक र सहचालक

0
Shares

काठमाडौं ।

बालाजुमा भएको तोडफोड, आगजनी र ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मनोज केसीका अनुसार उक्त घटनाका क्रममा सीसीक्यामेरामा देखिएकाहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा अधिकांश चालक, सहचालक र यसअघि विभिन्न आपराधिक घटनामा संलग्नहरु रहेका प्रहरीले जनाएको छ ।बुधबार काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरिएका उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने कसुर र चोरीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि आज (बिहीबार) प्रहरी वृत्त बालाजु र महाराजगन्ज पठाइएको छ ।

लोत्से मलमा भएको मोबाइल पसल चोरीको घटनामा तीन जना पक्राउ परेका हुन् भने आगजनी तथा तोडफोडको घटनामा १२ जना समातिएका छन् ।  लोत्से मलमा भएको लुटपाटमा पक्राउ पर्नेहरुमा काभ्रे, पाँचखालका १९ वर्षीय सुरज मगर (ताप्ले), उदयुपुर, चौदण्डीका ३० वर्षीय रितेश बस्नेत (भेना) र मोरङ, बेलबारीका ३० वर्षीय यमन राई छन् ।

यस्तै, तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा नुवाकोट, ककनीका सुनील कालिकोटे, काठमाडौं महानगरपालिका–१६, माछापोखरीका रोमन नगरकोटी (सिगाने), नुवाकोट, ककनीका सुदीप तामाङ, कामपा–१६, माछापोखरीका माधव शाही, नुवाकोट, सूर्यगढीका केशर राई, सिन्धुलीका ईन्द्र तामाङ, धादिङ, निलकण्ठका ईलाराज गुरुङ, उदयपुर, उदयपुरगढीका राजन राउत छन् ।

यस्तै, काभ्रे, नमोबुद्धका हरिशरण तामाङ, धादिङ, निलकण्ठका विकास गुरुङ, चितवन, रत्ननगरका संविधान परियार र कामपा–१६ सामाखुसीका कविन खड्गी पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

फागुन १ गते विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरहरुले बालाजुको माछापोखरीमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा उछृंखल भीडले प्रहरीको भ्यान, प्रहरी बिट, ट्राफिक आईल्यान्ड तोडफोड र आगजनी गरेको थियो । यता तोडफोड र आगजनी भइरहेकै बेला त्यसको मौका छोपेर ल्होत्से मलमा तोडफोड र लुटपाट भएको थियो ।