राष्ट्रपतिमा कांग्रेसप्रति लचिलो बन्दै माओवादी

0
Shares

काठमाडौं

सातदलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रपति पदमा नेपाली कांग्रेसप्रति लचिलो बन्दै गएको छ । आगामी शक्ति सन्तुलनको जोड घटाउ गर्दै माओवादी केन्द्र राष्ट्रपतिको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसप्रति सकारात्मक देखिएको हो ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने तयारी गरेको नेताहरूले संकेत गरेका छन् । वर्तमान सत्ता गठबन्धनको मुख्य दल नेकपा (एमाले) बाट राष्ट्रपति बनाउँदा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने रणनीति लिएको बताइएको छ । राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णयमा पुगिनसकेको जिकिर गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले भन्नुभयो– ‘सत्ता सहयात्री एमाले राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने कुरामा सहमत छैन । माओवादीले भनेको राष्ट्रपतिमा राष्ट्रिय सहमतिका सन्दर्भमा कांग्रेस लचिलो देखिएको छ । त्यसो हुँदा कांग्रेसप्रति हामी पनि अलिक लचिलो भएका छौं ।’ सरकारको नेतृत्व गरिरहेको माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि सँगै लिएर जाँदा सरकारले परिणाममुखी काम गर्न सक्ने माओवादी नेताहरूको भनाइ छ । सोही निष्कर्षसहित केही दिनमै स्थायी कमिटीको बैठक बोलाएर राष्ट्रिय सहमतिका पक्षमा निर्णय लिने शर्माको भनाइ छ ।

दुई दिनअघि मात्रै कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० भित्र वर्तमान गठबन्धन भत्कने बताउनुभएको थियो भने माओवादीका नेताहरूले राष्ट्रपतिका सन्दर्भमा फागुन १० वरिपरि औपचारिक निर्णय आउन सक्ने बताएका छन् । यस विषयमा निर्णय गर्न स्थायी समितिभन्दा अघि पदाधिकारीको बैठक बस्ने सम्भावना रहेको जानकारी दिँदै माओवादी केन्द्रका एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘राष्ट्रपतिमा कांग्रेससँग मिलेर जानेमा दलभित्र छलफल भएको छ, कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको छ ।’ एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने पर्याप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका ती नेताले बताए ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ । त्यसैले, त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको नेताहरूको प्रतिक्रियाले राजनीतक वृत्तमा तरंग उत्पन्न भएको छ । सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल एमालेले आगामी राष्ट्रपति एमालेले नै पाउनुपर्ने दाबी गर्दै आएको छ । सरकार गठनका बेला भएको सहमतिलाई माओवादीले कार्यन्वायन गर्नुपर्ने अडान राख्दै आएको एमालेले राष्ट्रपतिको निर्वाचनसम्म कांग्रेसबाहेकका कुनै पनि दललाई गाली नगर्ने रणनीति लिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धन आउने राष्ट्रपति निर्वाचनसम्म हो भन्ने अभिव्यक्ति दिँदा पनि एमाले अध्यक्ष ओलीले प्रतिवाद नगरी मौनता साँध्नुुभएको छ । अध्यक्ष ओलीले मंगलबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै सत्ता गठबन्धन रहिरहन्छ भन्ने अवस्था नरहेको सांकेतिक अभिव्यक्ति दिँदै भन्नुभएको थियो– ‘साविकको पाँचदलीय गठबनधन भत्काएर नायाँ गठबन्धनका साथ सरकार बनाएकोप्रति पार्टीका साथीहरूमा खुसी छाएको छ । तर, राजनीतिक अवस्था यस्तो रहिनरहन सक्छ, त्यसैले खुसी भइहाल्नुपर्ने अवस्था छैन ।’ ओलीको उक्त अभिव्यक्तिमा त्यति धेरै आशा नदेखिएको टिप्पणी गर्दै एमालेका एक नेताले भने– ‘हामी यही गठबन्धन जोगाएर स्थिर राजनीतिक प्रणाली अभ्यास गर्न चाहन्छौं । प्रधानमन्त्रीले पनि विगतका राजनीतिक सहमतिलाई पूरा गर्न लाग्नुपर्छ । उहाँ धेरै अस्थिर हुनुहँुदैन । अहिलेसम्म गठबन्धनमा असहजताको वातावरण सिर्जना भइसकेको छैन ।’

ओलीले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने गरी राप्रपा र रास्वपासँग छुट्टै बैठक गर्ने, सरकारलाई अप्ठेरो पर्नेगरी मन्त्री बनाउन दबाब दिनेजस्ता गतिविधिले माओवादी नेताहरू सन्तुष्ट देखिएका छैनन् । एक स्थायी कमिटी सदस्यले भने– ‘गठबनधनको मुख्य घटक एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने गरी प्रस्ताव ल्याएर प्रधानमन्त्री नै आफंैले चलाउनेजस्तो गरी प्रस्तुत हुन थाल्नुभएको छ, यसले गठबन्धनलाई दीर्घकालीन नबनाउने संकेत गर्छ ।’ मन्त्रालय बाँडफाँटमा समेत प्रधानमन्त्रीको इच्छाविपरीत गठबन्धनमा ओली नै हाबी भएको ती नेताले आरोप लगाए । रास्वपालाई गृह मन्त्रालय दिन नहुने माओवादीभित्र पहिले नै छलफल भए पनि ओलीकै बलमा छाड्नुपरेको उहाँको भनाइ थियो ।

गत पुस १० मा कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन छाडेर प्रधानमन्त्रीकै लागि बालकोट पुगेका प्रचण्डले दुई महिना नपुग्दै पुरानो गठबन्धन ब्युँताउने संकेत गर्नुभएको छ । उहाँले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोजेर गठबन्धनमा समस्या निम्त्याउन खोजेको टिप्पणी गर्दै एमालेका नेता विशाल भट्टराईले राष्ट्रपतिको पासो थापेको कांग्रेसले सत्ता पक्षको भूमिका खेलेर प्रतिपक्षी बेन्चमा बस्न नसुहाउने बताउनुभयो ।

ओली निवास बालकोटमा बसेर बनाएको एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीलगायतको गठबन्धनमा राष्ट्रपति निर्वाचनलाई लिएर असन्तुष्टि चुलिँदै गएको नेताहरूले स्विकार्न थालेका छन् । यद्यपि, गठबन्धनमा सहभागी रास्वपाका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा गृहमन्त्री गुमाएर पुन: प्राप्ति नभएपछि सरकार छाडे पनि समर्थन कायम राख्नुभएको छ ।
उता सत्ता भागबण्डामा कुरा नमिल्दा जनता समाजवादी पार्टी सत्ता बाहिर बसेको छ भने गठबन्धनको अर्को घटक नागरिक उन्मुक्ति पार्टी जेलमा रहेका आफ्ना नेताहरूलाई कैद मिनाहा नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिँदै आन्दोलित भएको छ । सरकारमै रहेको राप्रपाका मन्त्रीहरू र माओवादी पार्टीका नेताहरूबीच एजेन्डामा एकरूपता नदेखिँदा गठबन्धनको आयु लामो नभएको कांग्रेसका नेताहरू बताउँछन् ।

बुधबारको संसद् बैठकमा कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता गठबन्धनमा रहेका सात दलका शीर्ष नेता पछिल्ला बैठकमा एकै ठाउँमा नदेखिएको बताउनुभयो । एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै उहाँले प्रश्न गर्नुभयोे– ‘प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर जुन स्फूर्ति प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ? बालुवाटार र बालकोट दौड किन व्यापक बढेको छ ?’ उहाँले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताउनुभयो । राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै सांसद पौडेलले त्यस्तो हुन नदिन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी अघि सार्ने बताउनुभयो ।

उता नेकपा एकीकृत समाजवादी पार्टीले समेत कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिन नहुने अडानका साथ माओवादी नेताहरूमाथि दबाब बढाइरहेको छ । यी सबै कारणले गर्दा एमालेका लागि राष्ट्रपतिको निर्वाचन प्रतिकुलतातर्फ धकेलिँदै गएको देखिन्छ ।