प्रहरीको गाडी, विट तोडफोड र आगजनी गर्ने ६ जना पक्राउ

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकमा नेपाल प्रहरीको गाडी, अस्थायी विट, ट्राफिक आइल्याण्ड तोडफोड र आगजनी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड र आगजनी कार्यमा संलग्न छ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका–२ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका–५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका–१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्का रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारबाहीको विष्रोधमा १० वुँदे मागसहित विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ ।