लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड : प्रधानमन्त्री

0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताउनुभयो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मङ्गलबारदेखि राजधानीमा सुरु गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर् कर्जा प्राप्त गर्ने वातावरण बनाइने आश्वासन उहाँले दिनुभयो ।
उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुनः परिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुँजी अभाव लगायत समस्यालाई पनि सरकारले सम्बोधन गर्ने पनि उहाँले बताउनुभयो । लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै त्यसबारे उचित समाधान खोजिने पनि उहाँले आश्वासन दिनुभयो ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उहाँले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताउनुभयो ।

महिला तथा बालबालिका मन्त्री भगवती चौधरीले समृद्ध अर्थतन्त्रको निर्माण र देश विकासमा जोडिएका लघु, घरेलु तथा साना उद्योगहरु स्थानीय बजारका साथै निर्यातमा पनि लैजान सुझाव दिनुभयो ।

बागमती प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङले लघु, घरेलु तथा साना उद्योगीहरुको सीपलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो । यस्ता उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजान सुझाव दिँदै उहाँले यस्ता उद्योगको विकासका लागि बागमती प्रदेश सघाउन तयार रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावले उद्यमीहरू टाट पल्टिन लागेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, मेला संयोजक शोभा गुरुङ, केन्द्रीय महिला उद्यमी समितिका सभापति रोशनी उपाध्यायलगायतले बोल्नुभएको थियो ।

आगामी शनिबारसम्म चल्ने प्रदर्शनीमा मुलुकभरका झन्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गरिएको छ । प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताउनुभयो  ।