कृषि एम्बुलेन्स सञ्चालन गर्दै रामेछाप नगरपालिका

0
Shares

रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्याको समाधानको लागि रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार नगर भित्रका किसान लक्षित गदै कृषि एम्बुलेन्स सञ्चालन गरी कृषि जय बजारसम्म पु¥याइने छ । ९ वटै वडाका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलका अनुसार नगरपालिकाका किसानले जुनार, काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, खुर्सानी, अदुवा, साग, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, गेडागुडीलगायतका तरकारी उत्पादन गर्ने गरेका छन् । गाउँमा उत्पादन भएका फलफूल र तरकारी रामेछाप बजारको बिहीबारे हाट र मन्थली बजारको सोमबारे हाटमा ल्याएर बेच्ने गरिएको छ ।

कृषि एम्बुलेन्स सञ्चालन भएपछि किसानको घरबाट कृषि जन्य उत्पादन बजारसम्म पु¥याइने सहज हुने छ । कृषि एम्बुलेन्सको प्रयोगबाट किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाले विश्वास लिएको छ । रामेछाप जिल्लामै चिस्यान केन्द्र नहुँदा रामेछापका कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादन खेर जाने गरेको छ ।