अमेरिकी सहयोग कुनै भूराजनीतिक उद्देश्यले प्रेरित छैन : समान्था

0
Shares

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी)का प्रशासक समान्था पावरले नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन अमेरिकाले गर्दै आएको सहयोग कुनै भूराजनीतिक उद्देश्यले प्रेरित नभएको दावी गर्नुभएको छ ।

नेपालको दुई दिने भ्रमण सकेर बुधबार साँझ फर्कनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘अमेरिकी सहयोगको विषयमा बारम्बार प्रश्न उठाइने गरेको छ । तर हाम्रो सहयोग कुनै भूराजनीतिक उद्देश्य प्राप्तिका लागि नभई ७५ वर्ष लामो हाम्रो मित्रता र सहकार्यमा आधारित छ ।’ अमेरिकाले सधैं स्वतन्त्र र सार्वभौम नेपालको सम्मान गरेको जिकिर गर्दै उहाँले नेपालको विकास नेपालीद्वारा नेपाली दृष्टिकोणबाटै हुनुपर्ने अवधारणाअनुरुप युएसएआइडीले सहयोग गर्दै आएको बताउनुभयो । नेपालीले आफ्नो विकासको बाटोको चुनाव आफैं गरोस्, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाओस् भन्ने अमेरिकाको चाहना रहेको बताउँदै उहाँले भन्नुभयो– ‘सबै नेपाली स्वतन्त्र र समृद्ध बन्न सकेमा लोकतन्त्र पनि बलियो हुन्छ, त्यसले हामी पछाडि परेका महिला र सीमान्तकृत समुदायलाई सशक्त र समृद्ध बनाउन सहयोग गर्छौं ।’

प्रशासक समान्थाले अमेरिकाले सरकारी कार्यक्रममा अभिबृद्धि गर्नुका साथै नेपाली जनतासँग सीधै काम गर्न खोजिरहेको चर्चा गर्दै यसका लागी ५ करोड ८५ लाख अमेरिकी डलर अर्थात साढे ७ अर्व रुपियाँभन्दा बढी रकमको सहयोग गर्ने लागिएको जानकारी दिनुभयो ।

उहाँले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै नेपाललाई संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर आएको जिकिर गर्दै यस कार्यमा अमेरिकाको साझेदारी रहने बताउनुभयो । त्यस्तै युएसएआइडीले सामुदायिक अवश्यक्ता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्ने जानकारी पनि दिनुभयो ।

पत्रकार सम्मेलनमा युएसएआइडीका प्रशासक समान्था पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा विदेशी लगानी भित्र्याउन कर्मचारीतन्त्रलाई सरल र करको दायरालाई लचिलो बनाउनुपर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले बैदेशिक सहयोग परनिर्भरता बढाउन नभई आत्म निर्भर बनाउनका लागि हो भन्दै लगानीको वातावरण बनाई उद्यमशीलतालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।