युरोपेली आयुक्त उर्पिलैनेन काठमाडौंमा

0
Shares

काठमाडौं।

ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्ने उद्देश्यले अन्तर्र्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त उटा उर्पिलैनेन आज बिहान नेपालको एक दिने भ्रमणमा आउनुभएको छ ।

काठमाडौं आइपुग्नुअघि उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको थियो– ‘रुसको युक्रेन विरुद्धको आक्रमक युद्धले नेपाललगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ । म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु, डिजिटल, उर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न साझेदारहरूलाई इयुले सकारात्मक प्रस्ताव जारी गरेको छ ।’

काठमाडौंस्थित युरोपेली संघका अनुसार उहाँले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणले हालैको बहुवार्षिक सांकेतिक कार्यक्रम (एमआइपी) मार्फत नेपालसँग युरोपेली संघको बलियो र अटल संलग्नतालाई पुन: पुष्टि गर्ने बताइएको छ ।

उहाँको भ्रमण नेपालमा हरित अर्थतन्त्र, हरित रोजगारी र दीगो बृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न, क्षेत्रीय असमानता र मानव विकास सूचांकहरूमा पर्याप्त ध्यान दिंदै विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा जलवायु–उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरुमा मानव पूँजी विकास गर्ने विषयमा केन्द्रित रहेका बताइएको छ ।