क्यानेश्वर – हरिवन सडक अन्तर्गत पर्ने क्यान खोलामा पक्की पुल निर्माण सुरु 

0
Shares

सिन्धुली । 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वर स्थित क्यान खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको लगानीमा क्यानेश्वर–हरिवन सडक अन्तर्गत पर्ने क्यान खोलामा पक्की पुल निर्माण सुरु भएको हो । ८५ मिटर लम्बाई रहेको उक्त पक्की पुल मंगलवार(आज) एक कार्यक्रमका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले शिलान्यास गरेसँगै पुल निर्माणको थालनी भएको छ ।

कुल ८ करोड, ३३ लाख ४३ हजार १ सय ७६ रुपैयाँ ८७ पैसा निर्माण लागत रहेको पुलको निर्माणको ठेक्का निर्माण कम्पनी रसुवा–ईलाईट जेभी, कपन, काठमाडौँले पाएको छ । पुल दुई वटा स्पान र प्रि–स्टे«सड टि गर्डर प्रकारको बन्ने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण यादवले जानकारी दिनुभयो ।

पुल निर्माणको लागि २०७७ साल असार २९ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर पुलको डिपिआर निर्माण हुदाँ अहिले निर्माण थालिएको स्थानभन्दा झन्डै ३ सय मिटरमाथि सडकले नछुने ठाउँमा परेको र सो ठाउँमा पुल निर्माण गर्न नमिल्ने भएपछि डिपिआर नै सच्याउनु पर्दा दुई वर्ष पछि पुल निर्माण सुरु हुन पुगेको प्रमुख यादवले बताउनुभयो । पहिलो पटकको म्यादमा थप गरेर आगामी २०८० साल असार २२ गते सम्ममा पुल निर्माणको कार्य सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनीलाई निर्माण कार्य थालनी गर्न लगाइएको प्रमुख यादवको भनाई छ ।

पुलको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले गलत ठाउँमा डिपिआर बन्दा पुल निर्माण हुन समय लागेको बताउनुभयो । उहाँले आफ्नो धेरै पटकको प्रयास र पहलमा डिपिआर सच्याउने काम सम्पन्न भएको बताउनुभयो । उहाँले क्यानेश्वर क्षेत्रका नागरिकलाई सर्लाही लगायतका ठाउँमा जान क्यान खोलामा पक्की पुल अति नै आवश्यकता रहेकाले सम्झौता अवधि भित्रै गुणस्तरीय पुल निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पुल निर्माणमा देखिएका सबै समस्या हल गरेर पुल निर्माण सुरु भएपछि क्यानेश्वर क्षेत्रका नागरिकको सुखीको दिन सुरु भएको बताउनुभयो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले क्यान खोलामा पक्की पुल निर्माण सुरु भएसँगै यस क्षेत्रको विकासका लागि नयाँ ढोका खुल्ला भएको बताउनुभयो । उहाँले पुल निर्माण भएपछि आवात जावतका लागि क्यानेश्वर क्षेत्रका नागरिक विगतमा भोगेका दुःख कष्ट हट्दै यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य सामाग्रीको बजारीकरणमा समेत टेवा पुग्ने बताउनुभयो ।