पाकिस्तानी दूताबासले मनायो काश्मीर ऐक्यबद्धता दिवस

0
Shares

काठमाडौं।

पाकिस्तानको काठमाडौंस्थित दूताबासले सोमबार काश्मीर ऐक्यबद्धता दिवस मनाएको छ । दूताबास परिसरभित्र आयोजना गरिएको कार्यक्रममा काश्मिर ऐक्यवद्धता दिवसको अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको संदेश पढेर सुनाइएको थियो । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले काश्मिरी जनताको आत्मनिर्णय र न्यायको लडाईमा पाकिस्तानले सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सन् २०१९ को अगस्ट ५ मा भारतले संविधानमा भएको धारा ३७० निस्क्रिय पादै जम्मु–काश्मीरलाई दिएको विशेषअधिकार एकतर्फी ढंगले खोसेको आरोप लगाउँदै काश्मीरी जनताको आत्म निर्णयको अधिकारका लागि पाकिस्तानले सबै खालको सहयोग जारी राख्ने बताउनुभएको छ ।

त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले जम्मु–काश्मीरमा भारतीय सेनाले अनाधिकृत रुपमा कब्जा जमाएको भन्दै त्यहाँबाट भारतीय सेना हत्नुपर्ने र संचारमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्नेमा जोड दिनुभएको छ । उहाँले काश्मीरको समस्या काश्मीरी जनताको मतबाट टुंगो लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावको कार्यान्वयन गराउन दबाब दिन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल पनि गर्नुभएको छ । उहाँले त्यहाँको मानवअधिकारको अवस्था निकै दयनीय रहेको भन्दै अन्तराष्ट्रिय मानवअधिकार संघसंस्थालाई त्यहाँ पहुँच दिन माग गर्दै अन्तर्राष्ट्रियर संचारमाध्यमहरूलाई पनि त्यहाँको मानवअधिकारको अवस्थाको बारेमा अनुसन्धान गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा दूताबासका कार्यबाहक राजदूत उमेर अलीले जम्मु–काश्मीरका जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र आत्म निर्णयको अधिकारका लागि राष्ट्रसंघीय प्रस्ताव पारित गराउन अन्तर्राष्ट्रिय समुदायको पनि सहयोगको खाँचो औंल्याउनुभयो । साथै उहाँले यो क्षेत्रको शान्ति, सुरक्षा र समृद्धिका लागि पनि जम्मु–काश्मीर समस्या समाधान हुनुपर्नेमा सधैको ध्यान जानुपर्ने बताउनुभयो ।