राष्ट्रपतिले माघ २७ गते संघीय संसद्‍लाई सम्बोधन गर्ने



काठमाडौं ।

संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा जानकारी दिएका हुन् । उनले उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्‌का दुवै सदनका सांसदहरुलाई २:४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन आग्रह गरे । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।

‘मान्य सदस्यज्यूहरु सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधिसभाका सम्पूर्ण मान्य सदस्यहरु दिनको २:४५ बजेभित्र नै प्रतिनिधिसभा बैठक सभाकक्षमा आफ्नो आशनग्रहण गरिदिनुहुन अनुरोध गर्दछु । उक्त दिन र तोकिएको समयमा निर्धारित पोसाकमा उपस्थित हुन अनुरोध गर्छु,’ उनले भने ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट खानेपानीमन्त्री अब्दुल खानले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०७९ असोज मसान्तसम्म रहेकामा ती आयोगबाट सम्पादन हुनुपर्ने शान्तिप्रक्रियाका काम बाँकी रहेकाले २०८० असार मसान्तसम्म उक्त आयोगहरुको म्याद थप गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गते बसेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक माघ २७ गते शुक्रबार दिनको ५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्