तानसेनमा सडक खाना महोत्सव

0
Shares

पाल्पा।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नारा लिएर तानसेनको  मुख्य बजार मखनटोलमा शुक्रबार एक दिने सडक खाना महोत्सव आयोजना गरिएको छ   । महोत्सवमा सडकमै पकाउने, सडममै खाने अनि मनोरञ्जन पनि लिने यो आनन्द तानसेन वासीले लिए  । तानसेन नगरपालिका वडा नं. ४ को मखनटोल टोल विकास समितिले वडा नं. ४ को आर्थिक सहयोग र मखनटोल टोल विकास संस्थाको समन्वयमा महोत्सव संचालन गरेको सडक खाना महोत्सव समितिका संयोजक प्रबिता शाक्यले जानकारी दिनुभयो ।

सडक महोत्सव विगतका वर्षमा कोरोना महामारीले हुन सकेको थिएन । पछिल्लो समय सङ्क्रमणमा कमी आएसँगै पुनः महोत्सवको आयोजना गर्न लागिएको टोल विकास संस्थाले जनाएको छ । मखनटोलमा विगत १० वर्षदेखि सडक खाना महोत्सव मनाउँदै आइएको छ ।

महोत्सवमा विभिन्न जातजातिका खानाको कृषिजन्य वस्तुका साथै सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको थियो ।  महोत्सवमा ७० वटा स्टल रहेका थिए । दर्शक र उपभोक्ताले महोत्सवको आनन्द लिएका थिए ।

प्रदेश पाँचमा रहेका स्थानीय खानाहरुको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाÞह्य पर्यटकहरुलाई चखाउनुको  साथै  सामाजिक विकासका लागि यो महोत्सव आयोजना भएको हो ।

सडक खाना महोत्सवमा नेवारी, मगरी, ब्रामण, मुस्लिम लगायत जातिजातीका भेषभुषा सहित परम्परागत खाजा तथा खानाको स्टल राखिएका थिए ।

महोत्सवमा बटुक, विभिन्न प्रकारका छोइलादेखि लिएर पाल्पाको प्रसिद्ध खाना चुकाउनी,लगायता परिकार रुचाएका देखिन्थे । दर्शकहरुले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेष भूषा र नाच गान सहित मनोरञ्जन लिएका थिए  ।

तानसेन लगायत विभिन्न ठाउँहरुबाट सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिनका लागि विभिन्न स्थानबाट पारखीहरु आएका थिए । यस प्रकारको कार्यक्रमबाट पाल्पाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।