रोल्पालाई छायांकनस्थल बनाउन जोड



चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले हालै रोल्पामा आयोजित एक बहस कार्यक्रममा फिल्मकर्मी र पत्रकारले फिल्म छायांकनका लागि रोल्पाले सम्भावना बोकेको बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पा फिल्म छायांकनका लागि उपयुक्त हुने उनीहरूले बताएका छन् ।

परिवर्तन गाउँपालिका वडा नम्बर २ राइसीको डाँडागाउँमा सम्पन्न बृहत् चलचित्र बहसमा नायक रमित ढुंगानाले रोल्पा फिल्म छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । ढुंगानाले अहिलेसम्म फिल्मको कथावस्तु अनुसार छायांकनस्थल हुन नसकेको अनुभूति भएको चर्चा गर्दै रोल्पा धेरै हिसाबले फिल्म छायांकनका लागि उपयुक्त नयाँ स्थल हुनसक्ने बताए ।

फिल्म निर्देशक ऋषिराज आचार्यले रोल्पा फिल्म छायांकनका लागि उपयुक्त स्थल भएको चर्चा गर्दै भौगोलिक हिसावले टाढा भएका कारण आर्थिक भार बढ्ने भएकाले मात्रै रोल्पा फिल्म छायांकनस्थल बन्न नसकेको बताए । जनयुद्धको उद्गम थलोको रूपमा परिचित रोल्पामा छायांकनस्थल निकै सुन्दर छन् । दूरीका हिसाबले टाढा भएकाले यो ठाउँ अहिलेसम्म फिल्मकर्मीको नजरमा नपरेको होला । सरकारले फिल्म छायांकनका लागि केही लगानी गर्न सके निर्माता निर्देशक रोल्पाका लागि लगानी गर्न तयार छन्, आचार्यले भने । चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष शान्तिप्रियले फिल्मका निर्माता निर्देशकले फिल्मको कथावस्तुअनुसार छायांकनस्थल छनोट गर्न नसकेको औंल्याए । ुफिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन । रोल्पाजस्तो सुन्दर ठाउँ फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ, उनको भनाइ थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले रोल्पा फिल्मको पर्दामा समेटीन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए । उनले अब फिल्म छायांकनस्थलको रूपमा रोल्पालाई प्रयोग गराउन सके स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए । रोल्पा फिल्मकर्मीको नजरमा पर्न सके पालिकालाई पनि आर्थिकरूपमा सबल बनाउन सकिने आशा व्यक्त गर्दै उनले फिल्मको छायांकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्नेसमेत बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा फिल्म छायांकनका लागि भर्जिन ल्यान्ड भएको चर्चा गरे । १० वर्षे जनयुद्धको क्रममा तत्कालीन जनयुद्धका मुख्य कमान्डर तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु विशेष सुरक्षासहित सेल्टर लिएको ठाउँ युद्ध पर्यटन केन्द्र डाँडागाउँ अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेकोमा उनीहरूको जोड छ ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजना, गाउँपालिका वडा नम्बर २ को सहआयोजना तथा पालिकाको सहयोगमा कार्यक्रम संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघको दाङ शाखाका उपाध्यक्ष सन्तोष केसीले सञ्चालन गरेको बहस कार्यक्रमको सहजीकरण पत्रकार वसन्त विवश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्