रोयल्टीबारे प्रयोगकर्ताको ज्ञान नाजुक छ : बी. पाण्डे



दुई दशकदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय छन् गीतकार बी. पाण्डे । यस बीचमा गीतकार पाण्डेले लोक, कप, फिल्मी, आधुनिकजस्ता संगीतका सबैजसो विधामा लोकप्रिय र मर्मस्पर्शी गीत पस्कँदै आएका छन् ।

२०५८ सालमा तारा प्रकाश लिम्बुको संगीत तथा राजेशपायल राई र विनया निरौलाको स्वरमा शंका नगर मेरो मायामा बोलको गीत रेकर्ड भएसँगै गीतकार पाण्डेको गीत रचनाको औपचारिक यात्रा शुरू भएको थियो । त्यसपछि उनले निरन्तर रूपमा लोक, पप, फिल्मी तथा आधुनिक शैलीका गीतमा कलम चलाउँदै अँएका छन् भने आफूद्वारा रचित एक सय गीतका संगालोका रूपमा पुस्तक मेरा सय गीतहरू बजारमा ल्याएका छन् ।

उनीद्वारा लखित फिल्म प्रसादको वनकी चरी के भन्छेले लोकप्रियता कमायो भने उनको गीत लेखनीलाई समेत उचाइमा पुयाइदियो । शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिनदेखि पहिले दिल साट्ने कुरा भोलगायत एक सय ५० बढी गीत रचना उनले यो क्षेत्रलाई दिएका छन् । त्यस्तै, पञ्चरत्न, रत्न– १, रत्न– २, रत्न– ३, रत्न–४, मोह, मोह– १, दिललगायतका एलबम प्रकाशन भएका छन् ।

हिजो शुरू गरेको मेरो लेखन यात्राले अहिले २० बर्ष पार गरिसकेछ । यस दौरानमा मैले विभिन्न खालका गीत लेखेको छु । तीमध्ये सय गीतलाई समेटेर मैले पुस्तकको रूप दिएको छु ।

जुन गीतिपुस्तक अध्यनमा रुचि राख्नेका लागि पढ्नयोग्य किताब बनेको छ । गीत लेखनमा केही सिक्न चाहनेका लागि गीतको छन्द तथा मौलिकताको प्रयोगको बारेमा यसमा राम्रो ज्ञान छु आफ्नो सांगीतिक करिअरलाई सम्झिँदै उनी भन्छन्, यो यात्रामा अग्रजसँग सिक्दै समकक्षीसँगको सकारात्मक प्रतिस्पर्धा र अनुजलाई सिकाउँदै यो क्षेत्रसँग मेरो लामो यात्रा तय हुनेछ भन्नेमा विश्वस्त छु ।

राजेश पायल राई, रामकृष्ण ढकाल, अञ्जु पन्तदेखि नयाँ गायक–गायिका प्रताप दास, अभिज्ञा घिमिरेसम्मका लागि गीत रचना गरको पाण्डेजस्ता अधिकांश नयाँ पुराना गायक(गायिकासँगको मेलबाट गीत रचनालाई निरन्तरता दिँदै आएका उनी आफ्नो स्रोता दर्शकलाई सन्तुष्टि दिनु नै आफ्नो पहिलो प्रयास रहने बताउँछन् । गीत लेखनबाट राम्रो कमाइका साथै राम्रो जीवन बाँच्न सकिने आफ्नो लामो गीति लेखनको अनुभवले बताएको पाण्डे सुनाउँछन् । मैले पहिलो गीतपश्चात् सन् २००८ मा ड्रिम प्रोजेक्टको रूपमा एलबम पन्चरत्न बजारमा ल्याएँ ।

एउटा एलबममा ६ वटा गीत राख्ने चलन भएको त्यो जमानामा पन्चरत्न एलबममा ३२ गीत समावेश थिए । त्यतिबेला एउटा एलबम सीडिको मूल्य एक सय पचास हुन्थ्यो, तर पञ्चरत्न एलबमको मूल्य पन्ध्र सय थियो । पन्चरत्न म्युजिक एन्ड मेलोडिले उक्त एल्बमको रोयल्टी बापत मलाई १० लाखभन्दा बढी दिएको थियो । हाल त्यो कम्पनी बन्द भयो तर मेरा सिर्जना मेरै संरक्षणमा छन् ।

यदि राम्रो र जनमानसको मनमा बस्ने खालका शब्द लेखियो भने अवश्य पनि कमाइ राम्रो हुन्छ । मैले वनकी चरी के भन्छे गीतमार्फत राम्रो कमाइ गरेँ । म आफ्नो पारिश्रमिकस्वरूप प्रति गीत झन्डै ५० हजारदेखि एक लाख रुपियाँसम्म लिन्छु । राम्रो लेखियो भने आफ्नो मागबमोजिम पारिश्रमिक लिन सकिन्छ । अहिले विश्व बजारमा गीतको प्रयोगबाट आउने रोयल्टी अर्को महत्त्वपूर्ण कमाइ हो । यसबाट पनि मैले राम्रो रकम प्राप्त गरेको छु । यसरी गीतकारले पनि आफ्नो लिभिङ स्ट्यान्डर व्यवस्थित गर्न सक्छु उनले सुनाए ।

अहिले रचनाकारहरूले आफ्नो कपिराइटलाई व्यवस्थित गर्न सकिरहेका छैनन् । २०७८ सालमा संगीत रोयल्टी संकलन समाजको महासचिव भएपछि ५ वर्षदेखि अवरुद्ध रोयल्टी वितरणलाई सुचारु गराएको छु । रोयल्टी संकलनका लागि अरू योजना निर्माण तथा पुनरावलोकन गर्दैछौं ।

स्रस्टाहरू आफ्नो रोयल्टी पाएर खुशी भएको देख्दा र आफ्नै हातले रोयल्टी बितरण गर्दा अझ धेरै खुशी लागेको छ । संगीत रोयल्टी संकलन समाजको महासचिव रहेका पाण्डेले नेपालमा प्रतिलिपि अधिकारको बारेमा बल्ल छलफल हुन थालेको जनाउँदै आफ्नो कार्यकालमा भएका रोयल्टीसम्बन्धी कार्यबारे प्रकाश पारे ।

नेपालका स्रष्टाले रोएल्टी पाउन नसक्नुमा राज्य, गीत संगीत प्रयोगकर्ता एवं सर्जकमा भएका कमि कमजोरी केलाउँदै पाण्डे भन्छन्, रोयल्टीबारे नेपाली प्रयोगकर्ताको ज्ञान एकदमै नाजुक छ । अधिकांश प्रयोगकर्ता गीत÷संगीत भनेको हामीले फेर्ने श्वासजस्तै निःशुल्क प्रयोग गर्न पाउनुपर्छ भन्ने धारणा राख्छन् ।

एउटा राम्रो गीतको अडियो तयार हुँदासम्म करिब तीन लाख रुपियाँ खर्च भइसकेको हुन्छ । यसरी लगानी गरी तयार भएको गीत/संगीत बौद्धिक सम्पत्ति हुन् । बौद्धिक सम्पत्तिलाई नेपालको संविधान २०७२ को धारा २५ ले अन्य सम्पत्तिसरह मौलिक हक प्रदान गरेको छ भन्ने विषय प्रयोगकर्तामा जानकारी छैन । सिर्जनात्मक जोखिम उठाउने काम सर्जककै हो । तर, तिनै सर्जकको भविष्यको सुनिश्चितता नहुँदा नेपाली समाजमा सर्जकको भित्री अवस्था भने समस्यापूर्ण देखिँदै आएकोछ । हाम्रो समाजमा सर्जक मनपराउने, तर सर्जक जन्माउन नचाहने प्रवृत्ति छ भने कतिपय सर्जक आफ्नो बौद्धिक सम्पत्तिबारे अनविज्ञ रहेको पाइन्छ । उनले थपे, विश्वका कैयौं राष्ट्रको जीडीपीमा संगीत क्षेत्रको राम्रै उपस्थिति देखिन्छ । तर, नेपालमा यस क्षेत्रबाट राज्यले प्राप्त गर्न सक्ने आयतर्फ अध्ययन तथा अनुमान नै गर्न सकेको छैन ।

अन्य देशका स्रष्टा सर्जकको आकर्षक आय आर्जन, विलासी र भौतिक सुविधाले सम्पन्न जीवनशैली हाम्रो देशका स्रष्टा सर्जकको कष्टकर जीवनयापन, बिरामी पर्दा उपचार खर्चको अभाव तथा मृत्यु हुँदा अन्त्येष्टि गर्नसमेत खर्च नभई हात फिजाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा राज्यले प्रतिलिपि अधिकारका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक कदम चाल्नु जरुरी छ । यसो भएमा संस्कृति, साहित्य, कलाक्षेत्रमा सकारात्मक सन्देश प्रवाह भई सिर्जना हुने प्रतिफलबाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छविलाई उचो राख्न देशलाई टेवा पुग्ने निश्चितप्रायः छ ।

गीत रचनाका लागि विभिन्न अवार्ड र सम्मानबाट पुरस्कृत तथा सम्मानित पाण्डे भन्छन्, म गीत/संगीतसँगको प्रेममा छु । त्यसैले, यसभन्दा दायाँ/बायाँ हुन सक्दिनँ ।

प्रतिक्रिया दिनुहोस्