स्ववियु निर्वाचन चैत ५ गते !



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचन गर्न त्रिबि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।  विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज बिहीबार चैत ५ गते निर्वाचन गर्नेगरी सिफारिस गरेको हो । यसअघि १२ दिनअघि परिषदले उपकुलपति सहित २० वटा विद्यार्थी संगठनसंग छलफल गरेको थियो ।
सोही छलफलको आधारमा कार्यकारी परिषदको हिजोको बैठकमा सबै परीक्षा सम्पन्न गर्ने, रोकिएको परीक्षाफल प्रकाशित गर्ने र विद्यार्थीको भर्ना सक्ने लगायतका सबै काम सम्पन्न गरी निर्वाचन गर्नेगरी मिति तय गरिएको परिषदका सदस्य सचिव पशुपति अधिकारीले बताउनुभयो ।
त्रिबिका डीन, संस्थान र निर्देशनालयका पदाधिकारी सहितको बैठकले यो वर्ष े निर्वाचन गर्ने लिखित सहमति गरेको कारण सोही दिन तय गर्नेगरी सिफारिस गरेको हो ।
विद्यार्थी कल्याण तथा खेलकुद परिषदले निर्णय गरी कार्यकारी परिषदमा पठाउने व्यवस्था छ ।  कार्यकारी परिषद्ले सहमति दिएपछि प्रकृया अघि बढ्नेछ ।  निर्वाचन गर्न त्रिबिले केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । विद्यार्थी कल्याण तथा खेलकुद परिषदका निर्देशक अधिकारीले सो समितिले निर्वाचन कार्यतालिका सार्बजनिक गर्ने जानकारी दिनुभयो ।
निर्वाचन अघि विज्ञान संकायको भर्ना र प्रवेश परीक्षा, चिकित्साशिक्षा अध्ययन संस्थानको मेडिसिन, कृषी तथा वन संकायको प्रवेश परीक्षा, इन्जिनियरिङको भर्ना, स्नाककोत्तर तहको दोस्रो सेमेष्टर, एमए, एमएड लगायतका विषयको परीक्षा निर्वाचन हुनुभन्दा एक महिना अघिनै सम्पन्न गर्ने विषयमा डिनहरुसंग सहमति भैसकेको छ ।
१४ वर्षपछि स्ववियु  हुन लागेको निर्वाचनमा  सबै तयारी पुरा गर्न करिब साढे २ महिना लाग्ने अनुमान गरेको छ ।  त्रिबिको शैक्षिक क्यालेन्डरमा २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यसअघि २०७३ सालमा ६२ मध्य २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।
पछिल्लो १४ वर्षदेखि त्रिबि लगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ गरी क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।  त्यसबेला बिसं २०६५ मा निर्वाचन भएको थियो । बिसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् । त्रिबिले २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि  बिसं २०७३ मा निर्वाचन भएको थियो ।

पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २६ आंगिक क्याम्पसमा निर्वाचन भएको थियो । मिश्रित प्रणाली अनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था गरेको थियो ।  त्रिबिले योवर्ष सोही प्रणाली अनुसार निर्वाचन गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्