त्रिवि क्रिकेट मैदानमा जारी खेलको हारजितमा सट्टाबाजी खेलाउने भारतीय नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट खेल मैदानमा जारी खेलको हारजितमा सट्टाबाजी खेलाउने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङमार्फत सट्टाबाजी खेलाउने भारतको दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फारवेष्ट युनाइटेड र विराटनगर सुपर किंगबीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हारजितको लागि अनलाईन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्