आर्थिक अनियमितताको आरोप लागेका उपरथी शाहीबारे छानविन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी पे्रम शाहीको बारेमा छानविन गर्न सैनिक मुख्यालयले उच्चस्तरीय समिति गठन गरेको छ ।

हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा कोटअफ इन्क्वाइरीका लागि एक उपरथीको अध्यक्षतामा छानवीन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ ।

जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा कार्यरत हुँदा आर्थिक अनियमितता गरेको उजुरीबारे छानबिन भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

औषधी खरिददेखि विभिन्न सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सैनिक मुख्यालयले छानवीन शुरु गरेको थियो । तत्कालिन प्रधान सेनापति पूर्णचन्द्र थापाको सैनिक सहायक भएर बसेका शाहीले त्यसवेला शक्तिको दुरुपयोग गरी छानवीन प्रकृयालाई प्रभावित पारेको सैनिक उच्चस्रोतले दावी गरेको छ ।

सेनाको बिभिन्न पदमा एउटा जन्म मिति देखाएर सरुवा, बढुवा र विदेशमा दिइने तालिममा समेत सहभागी हुँदै आउनु भएका उपरथी शाहीले अवकासमा जाने भएपछि सिटरोलमा भरेको दुईवटा जन्म मितिमध्ये नागरिकताको जन्म मितिलाई आधार बनाएर थप एक बर्ष जागिर खाने गरी अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

बुधबारबाट उपरथीको ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका उपरथी शाही सर्वोच्चको अन्तरिम आदेशअनुसार सोमबार हाजिर हुन मुख्यालय पुग्नुभएको थियो । उहाँले शैक्षिक प्रमाणपत्रभन्दा नागरिकताका आधारमा उमेर कम भएको दाबीसहित सर्वोच्च अदालत पुग्नु भएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी शाहीमाथि छानवीन गर्न उच्चस्तरिय समिति बनेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्